कोरोना माहामारीको पिडा विश्वका सम्पूर्ण क्षेत्रमा उस्तै र उही छ । सम्पूर्ण क्षेत्रमा यसको असर र प्रभाव बढ्दै गईरहेको छ । कतिपय देशहरुमा शुरुमा लकडाउन त्यसपछि सहज र फेरि लकडाउनको अवस्थाहरु सिर्जना भईरहेको छ ।
नेपाल अहिले यहि चरणमा छ । लकडाउन पछिको अवस्था सामान्य बनाउन सकएिला की भन्ने सरकारको बिचार फेल हुने अवस्था देखा परेको छ । अर्थात पुनः लकडाउन नगरे देशले सास्ती व्यहोर्नु पर्ने अवस्था सिर्जना भईरहेको छ ।
यसमा सबैभन्दा बढि समस्या फिल्म क्षेत्र परेको छ । सरकारले सबैभन्दा पहिले फिल्म क्षेत्र बन्द गरेको थियो । अन्तिममा पनि फिल्म क्षेत्र नै खुल्नेछ । यसले हलवाला र निर्माताहरु बढि प्रभावमा परेका छन् । साथै श्रमजिवी फिल्मकर्मी मारमा परेका छन् ।
यसै सन्दर्भलाई लिएर चलचित्र विकास बोर्डले डाटा कलेक्शन गरिरहेको छ । फिल्म क्षेत्रमा पनि कुन सेक्टरमा कति असर, कति फिल्म प्रभावमा पर्यो, कतिलाई समस्या पर्यो भन्ने तथ्याङ्क बोर्डले खोजेको हो ।
निर्माता संघले सूचना नै आह्वान गरि कोरोनाको मारमा परेका फिल्महरुको सूची तयार पारे । तर, सूची निकै असान्दर्भिक रुपमा तयार भयो । कोरोनाको प्रभावमा नपरेका फिल्महरु मारमा परेको दावी गरियो । सुटिङमै नगएको फिल्महरु कोरोनाले रोकेको दावी गरियो ।
फिल्मको कथा नै तयार नभएको र कलाकार फिक्स नभएको कतिपय फिल्म कोरोनाका कारण सुटिङमा जान नपाएको दावी गरियो । यस्तो गलत तथ्याङ्कले निर्माता संघको नैतिकतामा प्रश्न उठेको छ । निर्माता संघले ६४ वटा फिल्मको सूची बोर्डलाई बुझाएको हो । तर वास्तविक समस्यामा परेको फिल्मको संख्या बढिमा ३३ मात्रै छ ।
बाँकी ३० फिल्मको संख्या किन र के स्वार्थमा निर्माता संघले विकास बोर्डमा बुझाईयो भन्ने प्रश्न खडा भएको छ । संघले गत चैत ११ गते कोरोना महामारीका कारण मारमा परेको फिल्महरुमा द होल टिमर, पारस, २ नंम्बरी, म यस्तो गित गाँउछु २,
घनचक्कर, मनको बाँध, हिरो रिटर्नस्, माँया बस्छकी के हो, झिँगे दाउ, उल्झन, पोखराकी काली, प्रेमगीत ३, सीमानामा काँडेतार, मन्त्र, हली, संहालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, मेरो आफ्नो,
आकासे खेती, एक, डेसान, शिरफूल, उफ यो मन, के घर के डेरा, तीन जन्तु, षटकोण, नालापानी, हेल्लो काशिराम, आरूषी, यो मायाँ कस्तो मायाँ, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी,
सम्झना विर्सना, सुस्केरा, तु, बिच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, ईन्काउन्टर, नीरफूल, चिसो एष्ट्रे, बद्री बहादुर, वडा अध्यक्ष, चपली हाईट ४, जारी, आई एम २१, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै, ह्रदयभरीलगायतका फिल्म छन् ।
फिल्मी फण्डाले तयार पारेको तथ्याङ्क अनुसार ३३ फिल्म मात्रै मारमा परेको देखिन्छ । त्यो पनि केही औपचारिक घोषणा गरेर छायाँकनमा गएको ७ फिल्म सहितको सूची हो । प्रदर्शनमा रोकिएका २१ फिल्म (पाँचले प्रचार समेत शुरु गरेको), पोष्टमा रहेको पाँच फिल्म सहित ३३ फिल्म प्रत्यक्ष र अप्रत्यक्ष कोरोनाको मारमा परेको फिल्म हो ।
तर निर्माता संघले ५ बर्षदेखि रोकिएको फिल्महरुलाई पनि कोरोना माहामारीको असरमा परेको दावी गरेका छन् । हलमा रिलिज नगर्ने भन्दै प्रेस रिलिज गरेर डिस होममा रिलिज गरेका फिल्म समेत कोरोनाको मारमा परेको भन्दै समावेश गरेका छन् ।
आन्तरिक विवाद र टिम तयार नहुदाँ बर्षौंदेखि रोकिएको फिल्मलाई कोरोको प्रभावले रोकिएको भन्दै सूचीमा समावेश गरेका छन् । निर्माता संघलाई केही निर्माताहरुले झुक्याएका हुन्, या जानी जानी सूची तयार भयो यस वारेमा संघले आफ्नो धारण प्रस्तुत गरेको छैन ।
यदि निर्माता हरुले झुक्याएर सूचीमा समावेश गर्न त्यस्तो फिल्महरु पठाएका रहेछन् भनेपनि निर्माता संघले त्यसमा सोध खोज गर्नुपर्ने थियो । बन्दै नबन्ने फिल्म, पाँच बर्षदेखि रोकेको फिल्म, डिस होममा रिलिज फिल्म, अब फिल्म बनाउँछु भनेर सोचका निर्माताहरुको फिल्महरु कसरी कोरोनाको मारमा पर्न सक्छ ? यौ सबैले बुझ्नुपर्ने कुरा हो ।
फिल्म क्षेत्रको समृद्धिका लागि भन्दै आवाज उठाउँदै आएको निर्माता संघले नै लोभ र लालचमा यस्ता घृणित काम गर्छन् भने फिल्म क्षेत्रको अवस्था कस्तो होला । रिलिजको तयारीमा रहेको फिल्मको संख्या २१ हो । जसमा पाँचले प्रचार प्रसार समेत शुरु गरेको थियो । यस्तै पोष्टमा रोकेको फिल्मको संख्या जम्मा पाँच हो ।
यहि तथ्याङ्क अनुसार प्रचार शुरु गरेका पाँच फिल्मको घाटा अनुमानित ४० लाख छ । यस्तै छायाँकन रोकिएका ७ फिल्मको छायाँकन पुनः शुरु गर्न अनुमानित ५५ लाख भन्दा बढि आर्थिक भार पर्न सक्छ । बाँकी छायाँकन जान नपाएका फिल्म, रिलिज रोकेका फिल्म, पोष्टमा अड्केको फिल्महरुलाई कोरोनाले अप्रत्यक्ष असर पारेपनि प्रत्यक्ष घाटा भने छैन ।
बरु यी फिल्महरुले लिएको कर्जाको ब्याजमा केही असहज पक्कै भएको छ । यस्तै फिल्म आमा र सेन्टिभाइरसको ओभरसिज पूर्ण रुपमा घाटा भएके छ ।
बोर्डलाई ६४ फिल्मको ज्ञापनपत्र बुझाउन निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ उपाध्यक्ष उदय सुब्बा, उपाध्यक्ष माधव वाग्ले, वितरण तथा प्रदर्शन सभापति एवम् कार्यसमिति सदस्यहरु श्री करण श्रेष्ठ, दिपेन्द्र के खनाल, ज्योतीराज राई, किसान पोखरेलका साथै निर्माता तथा अभिनेत्री रेखा थापा, निर्माता तथा निर्देशक शोभित बस्नेत, निर्देशक दीपेन्द्र लामालगायत बोर्ड पुगेका थिए ।
-फिल्मी फण्डा