– कृष्ण भुसाल
झट्ट हेर्दा साधारण देखिने बहुमुखी प्रतिभा धारण गरेका असाधारण व्यक्ति जो आफ्ना हरेक पाइलामा सपना बिछ्याइ हिँड्छन् र ती तमाम सपना साकार पार्न भोक-प्यास बिर्सिएर दिन-रात त्यसैमा तल्लीन हुन्छन् । अनि आफ्ना सपनासँग भावनात्मक नाता जोड्छन् । प्रतिफल जे-जस्तो आए पनि सदैव सुखानुभूति गर्न सक्ने गुणवान् व्यक्ति, जो जीत र हार दुवैमा ज्ञान देख्छन् र आफ्नो साधनामा तल्लीन हुन्छन्, ती नै साधक हुन् । यस्तै साधकको नाम हो- डा. डीआर उपाध्याय, जो अविरल आफ्नो यात्रामा निरन्तर लम्किरहेका छन् ।
हरेक मानिसका आ–आफ्नै चाहना र आकाङ्क्षा हुन्छन् । कसैको आफ्नै लागि मात्र हुन्छन् भने कसैको आफू सँगसँगै आफ्नो समाज, आफ्नो परिवेश, आफ्नो गाउँ–ठाउँ र देशका लागि । यस्तै गीतमार्फत् देश चिनाउने अभियानमा लागेका छन् उनी ।
व्यक्तिलाई समाजका घटना, प्रतिघटना तथा समाजका विभिन्न व्यक्तिका विभिन्न खाले क्रियाकलाप, व्यवहार अनि कुराले प्रभाव पार्नु स्वाभाविकै हो । समाजमा घटित घटना, प्रतिघटना, अग्रज र प्रतिष्ठित व्यक्तिको विचार एवम् क्रियाकलापले जुनसुकै व्यक्तिलाई पनि प्रभावित र प्रेरित गर्न सक्दछ । यही प्रेरणा र प्रभावले प्रत्येक मान्छेले आफ्नो जीवनको स्पष्ट मार्गचित्र कोर्दै आफ्नो उद्देश्यसम्म पुग्न सफल हुन्छ । वस्तुतः डा. डीआर उपाध्याय पनि साहित्य सिर्जनाका क्रममा विभिन्न व्यक्तिहरुबाट प्रभाव र प्रेरणाले अघि बढे । घर, परिवार र साथी–सङ्गीहरु नै उनको प्रारम्भिक प्रेरणाका स्रोत थिए ।
समाजको एकाई हो, प्रत्येक मान्छे । उसका राम्रा–नराम्रा जुनसुकै कार्यले समाजमा प्रभाव परिरहेकै हुन्छ । मान्छेले आफूले चाहेर सगरमाथा चढ्छन्, अनेक साहसिक कार्यहरु गर्छन् । यस्ता साहसिक कार्य गर्दा सहज कहाँ हुन्छ र ? तर, मानिस त्यसैमा सुखानूभूति गर्छन् । सुख र दुःख पनि मान्छेको मनकै अवस्था हो । सुख र दुःख बाहिर हुँदैन, जम्मै आफैँभित्र हुन्छ । उनीहरु आफूले गरेका कार्यमा समापन हुँदाको सन्तुष्टिलाई हेरेर सुखानुभूति गर्छन् । त्यसैले सुख र दुःख भनेको मनको एउटा अवस्थामात्रै हो । मान्छेको सिर्जनाशक्तिलाई, मान्छेको आत्मबललाई, उसको सफलतालाई यही कुराले परिभाषित गरिदिन्छ । सर्वप्रथम त कुनै पनि कुरा फत्ते गर्न मनमा भाव आउनुपर्छ । डा. डीआर उपाध्यायमा साहित्य सिर्जनामार्फत् बेजोड भाव सिर्जना भएको देखिन्छ । त्यही भावमार्फत् उनले आफ्ना साहित्यिक कर्महरुलाई अघि बढारहेका छन् र उनका गीतहरुले रेकर्ड राख्न सफल भएका छन् । गीत लेखेर एकपछि अर्को रेकर्ड राख्दै गर्दा यतिबेला उनको परिचय पनि फेरिएको छ, कीर्तिमानी गीतकारका रुपमा ।
मान्छेले आफ्नो सोच, संस्कार, संस्कृति, मानसिकता उसको बस्ने वरिपरिबाट, उसको आफ्नै वरिपरिको वातावरणबाट टिप्दछ । उसको परिवार, उसको गाउँ, उसको समाज, उसलाई र उसको मानसिकतालाई तालिम र दीक्षा दिने शिक्षकहरु हुन् । यही परिवेशले नै आज कीर्तिमानी गीतकारको परिचय बनेको छ- डा. डीआर उपाध्यायको ।
पिता शिवशंकरप्रसाद उपाध्याय र माता उमादेवी खनालका कान्छा सुपुत्रका रुपमा सन् १९६२ मा वीरगञ्जमा जन्मिएका साहित्यकार डा. डीआर उपाध्यायले वि.सं. २०३५ सालमा वीरगञ्जस्थित त्रि-जुद्ध व्यावसायिक मा.वि.बाट एसएलसी उत्तीर्ण गरेका हुन् भने भारतबाट विद्यावारिधि गरेका हुन् । सानैदेखि साहित्य सिर्जना गर्न थालेका डा. उपाध्यायको पहिलो रचना सायरी थियो भने यतिबेला उनी १८ एल्बमका सयौं गीत र दस उपन्यासका सर्जक भएका छन् ।
समाज, जीवन र पाठकको मनोदशालाई बुझेर लेखिएका उनका गीतले विभिन्न अवार्ड तथा रेकर्ड राखेका छन् नै, कालजयी प्रभाव पार्ने निश्चित छ । यही बोधबाट कलम चलाइरहेका डीआर यस्तै खाले राजमार्गमा हिँडिरहेका छन् । डीआरले समाजमा रहेका सबै पक्षमा गीतमार्फत् आवाज उठाएका छन् । उनले प्रयोग गरेका प्रतीक र मिथकहरु अपरिचित दुनियाँबाट लिइएका छैनन् । नयाँ गीतको उद्भवमा, तल्लीनमा रहेका डीआर सँगसँगै नवीन मान्यताको खोजीमा चिन्तनशील देखिन्छन् ।
साहित्यका विविध विधाहरु हुन्छन् । ती विधाहरुभित्र पनि अनेकन आयाम (धार) हुन्छन्, जसमध्ये स्वैरकाल्पनिकता र यर्थाथता दुई मुख्य धार हुन्छन् । साहित्यका लागि यी दुवै धार अपरिहार्य भए पनि यथार्थतामा उभिएको साहित्य नै जीवन्त हुन्छ । किनभने स्वैरकाल्पनिकताले साहित्य अथवा साहित्यका पाठकहरुलाई सपनामा जस्तै भ्रमित यात्रा गराउँछ, जुन यात्रा सपनाबाट ब्युँझनासाथ पलभरमै हराउँछ । त्यस्तो हराइजाने यात्राले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ ? हामी जो-कोहीले सजिलै भन्न सक्छौँ कि त्यसैले सपनाभन्दा विपना अर्थात् काल्पनिकभन्दा यर्थाथ साहित्य नै प्राणयुक्त साहित्य हो । यर्थाथ साहित्यभित्र पनि विभिन्न रुपहरु हुन्छन् जस्तै- विचार, विम्ब, प्रतीक आदि । यी तमाम रुपहरुका जगमा उभिएको यथार्थ साहित्यभित्र पनि विचार साहित्यको मूल जरा हो । जरा समातेर उभिएको साहित्य सधैँ जीवित हुन्छ । विचारबाहेक अन्य रुपहरु जस्तै विम्ब, प्रतीक आदिको साहित्यमा कुनै अर्थै छैन भन्नेचाहिँ होइन । विम्ब भनेको कला हो । कलाले रचनालाई सदा चम्किलो र सुन्दर बनाउने भूमिका निर्वाह गर्छ भने प्रतीक भनेको माध्यम हो, जसले साहित्यलाई वैकल्पिक एवम् कलात्मक बाटो हिँडाउने प्रयत्न गर्छ । यसर्थ, सबै रुपहरुको सन्तुलित र समुचित सम्मिलनबाट मात्रै उत्कृष्ट अर्थात् पूर्णरुपको साहित्य जन्मिन्छ । र, त्यस्ता साहित्य जन्माउने साहित्यकार असल र जिम्मेवार साहित्यकार ठहरिन्छ । यस्तै, जिम्मेवार साहित्यकार, उपन्यासकार एवम् गीतकार हुन्- डा. डीआर उपाध्याय ।
आममानिसको पीर, वेदना, पीडा र आँसुलाई सानैदेखि आफ्नै ठान्ने डीआरलाई त्यही मानिसका गहिरो वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरुले सृजनकर्ममा लाग्न प्रेरित ग¥यो । त्यसैले उनको रचनामा प्रायः मानिसको भोगाइका अवयवहरु सजीवरुपमा समेटिएको पाइन्छ । उनी भन्छन्– ‘म साहित्यमा जनजीवनले भोग्दै आइरहेका तमाम आरोह-अवरोहको स्पष्ट चित्र उतार्न रूचाउँछु ।’ लेखन नै आफ्नो जीवनको नशा र सौख ठान्ने साहित्यकार डा. उपाध्यायका समसामयिक रचनाहरु नेपालका प्रायः सबै राष्ट्रिय दैनिकहरुमा नियमित प्रकाशित हुँदै आइरहेका छन् । लेखनको केन्द्रविन्दु सामाजिक यथार्थवाद हुनुपर्छ भनी दाबी गर्ने उनका हालसम्म १० वटा उपन्यासहरु ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ प्रकाशित छन् ।
गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका छन् डा. डीआर उपाध्यायले । उनले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।
सात गीतिएल्बमका ३६ वटा गीत एकैपटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।
‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीतिएल्बम स्रोता÷दर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले गीतलेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।
‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।
‘म समाजका लागि गीत लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्ने गीतकार डीआर उपाध्याय आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत नलखेको भए पनि गीत स्रोता/दर्शकले मन पराउँदै जाँदा गीतले आफूलाई पुरस्कार, अवार्ड दिलाउनुका साथै रेकर्डहरु राख्न सफल भएको बताउँछन् ।
मिलनसार स्वभावका डीआर आफूभन्दा अग्रज स्रष्टाहरुलाई सधैँ सम्मान गर्छन् भने नयाँ पिढीका स्रष्टाहरुलाई स्नेह गर्छन् । जीवनको अन्तिम क्षणसम्म आफूलाई साहित्यमै समर्पित गराउने उद्देश्य बोकेका उनलाई यस क्षेत्रमा हिँड्न उनकी श्रीमती सुनिता खनालका साथै छोरा अङ्कित र छोरी ईशाले साथ दिइरहेका छन् । डीआर म्युजिक एन्ड क्रियशनमार्फत् उनले आफ्ना गीतहरु स्रोता÷दर्शकमाझ पस्किरहेका छन् ।
साहित्यकारहरु भनेका समाजका गहनाहरु हुन् भने सिर्जना भनेका स्रष्टाहरुलाई मृत्युपछि पनि अमर राख्ने सञ्जीवनी हुन् भन्ने धारणा राख्ने उनी भन्छन्- ‘हरेक लेखकले आफ्नो लेखनमा नवीन विषयहरुको खोजी गर्नुपर्छ । साथै, आफ्नै भाषा-शैलीको निर्माण गर्नुपर्छ । त्यही हो लेखकको मौलिकता या पहिचान ।’ उनी अगाडि भन्छन्- ‘अहिले सबै मानिस हतारमा छन्, जसलाई मध्यनजर गर्दै हरेक लेखकले बोझिलो होइन, बरू आमपाठकले तुरून्त बुझ्ने गरी आफ्ना रचनालाई पस्कनुपर्छ ।’ नभन्दै साहित्यकार डा. डीआर उपाध्यायका हरेक रचना जो–कोही पाठकले पनि सजिलै ग्रहण गर्ने खालका छन् ।
अत्यन्त चलाखीपूर्वक विम्ब, प्रतीकलाई आवश्यकतानुसार प्रयोग गरी सरल भाषामा लेखिएका उनका रचनाहरुमा अत्यन्त गहन विचारहरु प्रतिविम्बित भएका छन्, जसले आजको परिस्थिति अर्थात् समाजलाई बदलिँदो समय सँगसँगै हिँडाउन अथवा मानिसको चेतनालाई अझै समुन्नत बनाउनका लागि अहम् भूमिका खेलेको छ ।
सातपछि सात
नेपाली गीतिसाहित्य विधामा एकै पटक सात गीतिएल्बम बजारमा ल्याई विश्वकीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले फेरि सातवटा एल्बम एकैसाथ स्रोता÷दर्शकमाझ ल्याएका थिए । २०७५ सालको मङ्सिरमा सातवटा गीतिएल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, र ‘सहेली’, ३६ गीत राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यतामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सार्वजनिक गरेका उनले पुनः गत कार्तिक २५ गते सात गीतिएल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दूर’ र ‘अनुभूतिको मझेरीमा’ सार्वजनिक गरेका थिए ।
१६ महिनामा १८ एल्बम
२०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बम स्रोता/दर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले १६ महिनामा १८ एल्बम स्रोता÷दर्शकमाझ ल्याएका थिए । २०७५ सालको मङ्सिरमा सातवटा गीतिएल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, र ‘सहेली’ सार्वजनिक गरेका थिए ।
त्यस्तै, जेठ ५ मा उनले तीन गीतिएल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरेका थिए । २०७६ कात्तिक २५मा उनका सात गीतिएल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दूर’ र ‘अनुभूतिको मझेरीमा’ सार्वजनिक भएका थिए । ‘२५ गते सात गीतिएल्बम, एक उपन्यास र आठ उपन्यास सङ्गालोको लोकार्पण गरिएको थियो ।
गीत लेखेर एकपछि अर्को कीर्तिमान
गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका छन् डा. डीआर उपाध्यायले । उनले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । सात गीतिएल्बमका ३६ वटा गीत एकैपटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।
सबैका लागि गीत
डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका १९ एल्बममा रहेका गीतमा माया प्रेम, रोमान्स, विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड-पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन वर्ष २०२० लाई लक्षित गीत, समाजमा रहेका नागरिकलाई स्वस्थ तथा निरोगी बनाउन योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै, मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उनका ।
प्रणय, रोमान्स, भावनात्मक, यातना, कष्ट, वैभव र ऐश्वर्यपूर्णलगायत जीवनका अनेकौँ आरोह-अवरोहका भुक्तभोगी डा. डीआर उपाध्याय जीवनलाई सृष्टिकर्ताको एक उत्कृष्ट नाटक र त्यही अदृश्य महाशक्तिलाई निर्माता-निर्देशकका रुपमा लिन्छन् । साहित्यकर्महरुमार्फत् विभिन्न रेकर्डहरु राखेर नयाँ राजमार्ग निर्माण गरिरहेका उनका कर्महरुले अझ व्यापकता पाऊन्, उनलाई बधाई तथा शुभकामना ।
(मिलापको असार अङ्क)