काठमाडौं। ‘गल्ती गरेको छ भने बुबा भएपनि सजाय पाउनुपर्छ।’ यो तपाईं-हाम्रो बोलीचालीमा प्रयोग गरिने शब्द हो। तर, व्यवहारमा भने आफ्नो मान्छेलाई बचाउन न्वारनदेखिकै बल लगाइन्छ। अर्थात बोली र व्यवहारमा फरक हुन्छ। यस्ता विषयमा सबैभन्दा घरपरिवार त्यसपछि आफन्त नातेदार हुँदै ‘जेण्डर’को कुरा आउँछ। आजभोलि झन गलत गर्ने जो सुकै होस् सजाय पाउनुपर्छ भन्ने भन्दा पनि महिला वा पुरूष भनेर जेण्डर नै छुट्याइन्छ।

यस्ता विषय राष्ट्रिय बहसमा नै आउँछन्। कुनै घटना घटेको छ भने त्यसमा ठ्याक्कै महिलाहरू महिलाकै पक्षमा बोल्छन्, भने पुरूषहरू पुरूषकै पक्षमा तर्क वितर्क गर्ने गरेको देखिन्छ। यसको ज्वलन्त उदाहरण नायिका साम्राज्ञी आरएल शाहलाई लिन सकिन्छ।

उनले चलचित्र यात्रामा प्रवेश गरेको पाँच वर्ष पुगेको अवसरमा आफ्नो अनुभव सेयर गरिन्। चलचित्र यात्राको क्रममा थुप्रै पटक दुर्व्यवहारको शिकार बनेको बताइन्। त्यसमा यौन शोषण तथा अन्य दुर्व्यवहारको शिकार बनेको बताएकी साम्राज्ञीले त्यसमध्ये अभिनेता भुवन केसीमाथि प्रमुख जिम्मेवार ठानिन्।

भुवनले जवाफ फर्काएपछि यो विषय पक्ष विपक्षमा विभाजन भयो। साम्राज्ञीले आरोप लगाउने बित्तिक्कै अभिनेत्रीहरू केकी अधिकारी, रिमा विश्वकर्मा, प्रियंका कार्की, नम्रता सापकोटा, वर्षा सिवाकोटी, आँचल शर्मा, ऋचा शर्मा, निशा अधिकारी लगायतले आइएमविथ साम्राज्ञी ह्यासट्याग नै चलाए।

उनीहरूले साम्राज्ञीलाई सशक्त भएर आफ्नो आवाज बुलन्द गर्न भन्दै आफ्नो पूर्ण समर्थन रहेको प्रतिबद्धता समेत जनाए। साम्राज्ञीले लेखेको तथा बोलेको कुराहरूलाई सामाजिक सञ्जालमार्फत सेयर गर्ने आफ्नो धारणा राख्ने काम समेत गरे। अभिनेत्री वर्षाले मान्छे चिन्ने समय आएको भन्दै सत्य लुकेर नलुक्ने प्रतिक्रिया दिएकी थिइन्। उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, “हाम्रो कर्मथलोमा केही गलत हुँदैछ भने त्यसलाई लुकाएर दर्शकको आँखामा धुलो छर्नु झन गलत हो।”

चलचित्र क्षेत्रभित्र हुने यस्तो विकृतिबारे आवाज उठाउँदा उनलाई साथ र हौसला दिनेमा अधिकांश महिला कलाकार मात्र देखिए। अभिनेता नाजिर हुसेन, निर्माता तथा गायक अर्जुन कुमार लगायतका केही पुरूष कलाकार मात्र साम्राज्ञीको पक्षबाट बोले। ती बाहेक पुराना तथा चलचित्र क्षेत्रको माथिल्लो तहमा बसेकाहरू उनको पक्षमा बोल्न सकेका छैनन्।

भुवनको पक्षमा पुरूष

उक्त आरोपको खण्डन गर्दै आएका भुवन केसी अन्ततः गाली बेइज्जतीको मुद्दा लिएर अदालत पुगेका छन्। उनले १० करोड क्षतिपूर्तिमा माग गरेका छन्। भुवन निर्दोष रहेको तथा उनको चरित्र हत्या गर्न आरोप लगाएको भन्नेहरू पनि प्रशस्तै छन्। त्यस्ता व्यक्तिहरूमा अधिकांश पुरूष छन्।

भुवनको पक्षमा बोलेका अभिनेता शोभित बस्नेत भने निकै उग्र रूपमा प्रस्तुत भए। साम्राज्ञीमाथि तल्लोस्तरको शब्द प्रयोग गरेर व्याख्या गरेका शोभितले भुवनलाई दूधले चोख्याउन भ्याए। साम्राज्ञीलाई रिटायर्ड नायिकाको संज्ञा दिएका शोभितले अन्ततः आफूले बोलेका केही शब्दमा माफी समेत मागे।

भुवनको पक्षमा बोल्नेले भुवनको बचाउ गर्दै आएका छन् भने साम्राज्ञीको चरित्रमाथि नै प्रश्न उठाउने प्रयास गरेका छन्।

किन बोल्दैनन् चलचित्रका अभिभावक ?

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेकाहरू भने यो विषयमा मौन छन्। सानो विषयलाई पनि तिलको पहाड बनाउने हिरो हिरोइन तथा चलचित्रकर्मी यो विषयमा भने मौन देखिँदा धेरैले स्वार्थले हेरेको प्रतिक्रिया दिएका छन्। रेखा थापा, गौरी मल्ल, निखिल उप्रेती, राजेश हमाल, शिव श्रेष्ठ जस्ता चर्चित हस्तिहरूले चाहेको खण्डमा यो विषय क्षणभरमै पनि समाधान हुनसक्थ्यो।

तर, उनीहरू यस्तो विवादबाट टाढै रहने प्रयासमा छन्। उनीहरूले कसैको पक्ष-विपक्षमा बोल्नुभन्दा पनि सत्यको पक्षमा बोल्नुपर्ने हुन्छ। तर, सबै मौन छन्।

आरोप–प्रत्यारोप भन्दा सत्यको पक्षमा

हिंसाविरुद्ध जिरो टोलरेन्स अभियान चलाइरहेकी अभिनेत्री निशा अधिकारी पीडितले न्याय पाउनुपर्ने बताउँछिन्। “यहाँ जो पनि पीडित हुनसक्छ। साम्राज्ञी मात्र पीडित हुनसक्छ भनेर अहिले नै भन्न मिल्दैन। यस विषयमा छानविन हुनुपर्छ। जो पीडित हो, यसले न्याय पाउनुपर्छ। पीडकले सजाय पाउनुपर्छ”, उनले भनिन्।

झरना थापाले पनि सत्यतथ्य छानबिन गरेर पीडितले न्याय पाउनुपर्ने बताइन्। “यदि उनी साच्चै हिंसामा नै परेकी हुन् भने न्याय पाउनुपर्छ। होइन भने चरित्र हत्या गर्ने उद्देश्यले यस्तो आरोप लगाइएको हो भने त्यसमा पनि छानबिन हुनुपर्छ”, उनले भनिन्। चलचित्र निर्देशक मनोज पण्डित चलचित्र क्षेत्रमा पीडितको पक्षमा भन्दा पनि पीडककै पक्षबाट बोल्नेहरू धेरै रहेको बताउँछन्। चलचित्र क्षेत्रमा यस्तो विकृति व्याप्त रहेको भन्दै पीडितले कहिल्यै न्याय पाउन नसक्ने उनकाे टिप्पणी छ।

तपाईको प्रतिक्रिया