भनिन्छ, सपना देख्नेले मात्रै समाजमा ठूलो मानप्रतिष्ठा र पैसा कमाउन सक्छन । तर केही पात्रहरु यस्ता पनि छन्, जसले धेरै महत्वाकांक्षी सपना नदेखी सफल भएका छन् । मिहिनेतमा कमी नगर्नेहरु नै सफल भएका छन् ।

निरन्तरता, इमान्दारिता र लगनशीलता । यी तीन शब्दलाई सफलताको सूत्र भनिन्छ । यिनै तीन सूत्र जीवनमा लागू गरेर सफल भएका व्यक्ति हुन् अहिलेका स्थापित उद्योगी चन्द्र ढकाल ।

बागलुङ जिल्लाको सामान्य परिवारमा जन्मिएर सुरुवाती समयमा निकै कष्टपूर्ण जीवन गुजारेका चन्द्र ढकाल अहिले देशकै चर्चित व्यावसायिक घराना आइएमई ग्रुपका अध्यक्ष हुन । उनी ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा चर्चित पर्यटकीय क्षेत्र बन्न सफल चन्द्रागिरी हिल्सको समेत अध्यक्ष हुन् । उनकै नेतृत्वमा अरु दर्जनौं व्यावसायिक प्रतिष्ठानहरु संचालनमा छन् । ती प्रतिष्ठानले आज हजारौ कर्मचारीलाई रोजगारी दिइरहेको छ ।

अहिले जुन ठाउँमा पुगेका छन्, यहाँसम्म आइपुग्न निकै संघर्ष गरे । कसरी शुरु भयो, उनको संघर्षको यात्रा ? यहाँ चर्चा गरौं :

बागलुङको अमलाचौर गाविस वडा ४, कुँडहरमा बुवा स्व. हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट जन्मिएका ढकालले १६ वर्षको उमेरमा नै बुवा गुमाए । घरकै मिँयो ढलेपछि जेठा छोरा भएका नाताले पारिवारिक दायित्व उनको काँधमाथि आइलाग्यो । त्यो बेला उनी कर्तव्य पूरा गर्ने अठोट बाहेक अरु केही गर्न सक्दैनथे । विकल्परहित दायित्व पूरा गर्ने कोशिसमा लागे । बुवाको असामयिक निधनपछि पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा अनुत्र्तीण भए । त्यसमा धेरै चिन्तित नभई र नहड्बडाई लगनसाथ आफ्नो कर्ममा समर्पित भए ।

घाँसदाउरा, मेलापात, गाईभैँसी चित्रा भकारी सबैसँग उनी भिजेका थिए । पारिवारिक आर्थिक अवस्था मजबुत भएको भए स्मृतिका पाना पल्टाउँदा सायद उनको बाल्यकालमा डोको, नाम्लोको सन्दर्भ हुँदैनथ्यो होला ।

गाउँ छँदा उनले चोयाँ काढे । डोको बुने । नाम्लो बुने । एसएलसी नजिकिँदै गएको बेला त्यही बीचमा बुवाको स्वर्गारोहण हुन गयो । त्यसको प्रत्यक्ष असर उनको पढाइमा गर्‍यो । नतिजा आउँदा अंग्रेजी विषय लागेछ । दोस्रोपटकमा अंग्रेजी कटाए । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं आइपुगे । उनी केही समय जागीरका लागि भौँतारिए । केही समयपछि एक निजी कम्पनीमा जागीर पाए । ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागीरे जीवन सुरु गरे । घरमा खर्च पठाउँदै पढाइलाई निरन्तरता दिए । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब ४ वर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे ।

२०४८ सालतिर कोल्ड स्टोर चलाए । त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारक्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा ऋण स्वीकृत नभएको ढकाल सम्झन्छन् ।

सो घटनापछि आक्रोशित बनेका उनले जागीर नै त्याग्ने सोच बनाए । अन्नतः उनले बैंकिङ जागीरबाट राजीनामा दिए । तर उनको अहिलेको यो सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । उनले एउटा बालकका रूपमा आफ्नो बुवाको माया र सुखद भविष्यको सपना चाहीँ देख्न पाएनन् । बुवाले सानैमा छाडेर गए । सोह्र वर्षको एक किशोरको काँधमा अब आमा र साना भाइबहिनीको भविष्यसमेत थपिएको थियो । भन्छन्, ‘त्यसबेला मेरा आँखा अगाडि एउटै मात्र सपना आएको हो । जस्तोसुकै मूल्यमा पनि अब आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ ।’ तर उपाय के होला ? त्यो बालमष्तिष्कले सोच्न सक्ने कुरा पनि भएन । तर अहिले उनले नसोचेको सफलता हात लाग्यो आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्ने सपना पूरा गरेरै छाडे ।

‘त्यो दिन सही निर्णय गरेँछु भन्ने लाग्छ । तर त्यही दिन, त्यसै पलमा त्यो निर्णय कसरी गरेँ भन्नेबारेमा अहिले पनि बेला–बेलामा सोच्ने गर्छु । त्यस समय बैंकको जागीर सबैलाई प्यारो थियो । तर, मेरो ब्रह्मज्ञानले जागीरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला ? कहिलेकाहीँ आफैँ छक्क पर्छु ।’ त्यसयता पनि उनको जिन्दगीले भोगाइका धेरै मोडहरु बनायो ।

व्यवसायमा हात हालेका ढकाल कार्गो व्यवसायलाई विदेशमा फैलाउन चाहन्थे । त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरे, भिसा पनि लाग्यो । तर, जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसेर काम गरे ।

‘त्यस समय जापानको रोजगारीलाई राम्रो मानिन्थ्यो, ती दाजुको आग्रह भयो र म १० महिनाजति त्यहीँ काम गरेर बसेँ । पछि अमेरिका गइनँ ।’ त्यहीँ बस्दा नै विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने सास्ती र जोखिम थाहा पाउने अवसर मिल्यो उनलाई । पछि भाइ हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे । ढकाल दाजुभाइको जापान बसाइको अनुभवको उपजले नै जन्मिएको थियो ‘आइएमई’ ।

ढकालका जिन्दगीमा अनेक मोड आए । विदेशमा श्रम बेच्ने नेपालीहरुको रेमिट्यान्स भित्राउने आजको एउटा प्रमुख कम्पनी आईएमईका सञ्चालक ढकाल आफै पनि कुनै समय वैदेशिक रोजगारीमा थिए ।

उनले कार्गो व्यवसायमा सफलता हात पार्दै गर्दा अमेरिकामा नेपाली गलैँचा र तयारी कपडाको बजार निकै राम्रो थियो । उनी कार्गो व्यवसाय विस्तारका लागि अमेरिका जान चाहन्थे, भिसा पनि पाए । एकजना गाउँले दाइले जापानको बाटो भएर अमेरिका जान भनेपछि उनले भिसा आवेदन दिएर जापान जाने तारतम्य मिलाए । भन्छन्, ‘१० महिना जापानको एउटा छापाखानामा काम गरेँ ।’
आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा संलग्न छन् । उनी आफ्नो निजी व्यापार मात्र गर्दैनन्, उद्योग, वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि पनि समय खर्चिन्छन् । रोजगारदाता परिषद्को सभापति उनले रोजगारदाताहरुको हकहितको स्थापनाका लागि पनि सक्रिय छन् ।

सरल मृदुभासी ब्यबसायीको छबी बनाएका ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका संघर्षका कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उनको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन् ।

ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । विसं २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरि केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई ‘रिट्रिट’ गराउनेदेखि लिएर महत्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बन्यो ।

अबको उद्देश्यः निजी क्षेत्रको नेतृत्व

चर्चित उद्योगी ढकाल अहिले पनि सामान्य किसिमको जीवनशैली अपनाउँछन् । उनको जीवनशैलीमा खासै तडकभडक छैन । धेरै मिहिनेत गरेर सफल व्यवसायीको रुपमा चिनाउन सफल ढकालको अबको उद्देश्य भनेको निजी क्षेत्रको नेतृत्व लिने हो । अहिले उनी निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको दौडमा छन् । हाल महासंघको उपाध्यक्ष रहेका ढकाल रोजगार परिषद्मा सभापति समेत हुन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उनले प्यानलसहित उम्मेद्वारी घोषणा समेत गरिसकेका छन् । ढकाल अहिले एशोसिएटतर्फका उपाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया