काठमाडौं। ७ साउनबाट लकडाउन खुल्यो। सबैतिर चहलपहल बढ्न थालको थियो। रंगकर्मी केदार श्रेष्ठ पनि अवस्था सहज हुने ठान्दै साथीभाइसँग सरसल्लाह लागेका थिए।

कीर्तिपुरस्थित थिएटर मलमा चैतदेखि लागेको ताला खोल्ने सोचलेमात्र पनि उनलाई उत्साहित पारेको थियो। त्यसैले नाट्यकर्मी साथीभाइलाई बोलाएर छलफल गर्न थालिसकेका थिए।

तर, उनको उत्साह धेरै दिन टिकेन। जे कारणले मलमा ताल्चा लगाउनु परेको थियो, त्यही कारण फेरी पनि उनी र उनीजस्ता नाट्यकर्मीहरुको कर्ममा बाधक बन्यो।

लकडाउन खुकुलो भएको केही दिन नबित्दै कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्न थाल्यो, थिएटर मलको ताला खोल्ने श्रेष्ठको उत्साहमा पानी खन्याउँदै।

“लकडाउन खुलेपछि अब केही सहज हुन्छ भन्ने लागेको थियो। तर, केही दिन पछिबाट संक्रमण झन बढ्न थाल्यो। नाटकको गतिविधि अगाडि बढाउन झनै कठिन अवस्था सिर्जना भएको छ,” उनले भने।

महामारी सहज होला, थिएटरमा नाटकसँगै चहलपहल फर्किएला भन्ने भन्ने आशा अझै धेरै समयका लागि पछि धकेलिएको छ।

थिएटर भिलेज नेपालका संस्थापक विमल सुवेदी नाट्यकर्ममा दर्शकको प्रत्यक्ष भौतिक उपस्थिति आवश्यक हुने भएकाले भएकाले तत्काल थिएटर सञ्चालन गर्न सम्भव नभएको बताउँछन्।

महामारीकै बीच उनले केही दिन अनलाइन कक्षा चलाउने, रिहल्सल गर्नेजस्ता काम गरेका थिए। तर, कोरोनाको त्रास बढ्दै गएपछि अहिले सम्पूर्ण रूपमा थिएटर भिलेज बन्द छ।

“लकडाउनका बेला घर गएका कलाकार फर्किएका छैनन्। यहीँ उपलब्धहरूबाट रिहल्सल गर्दै आएका थियौं।” सुवेदीले भने, “महामारी बढ्दै गएपछि जोखिम बढ्न थालेपछि बन्द गर्‍यौं। महामारीको अवस्था सहज नभएसम्म नाटक मञ्चन गर्न सकिँदैन।”

विकल्प छ त ?

नाटक मञ्चनका लागि थिएटर हल नै आवश्यक पर्छ। त्यस्तै दर्शकको प्रत्यक्ष उपस्थिति पनि आवश्यक पर्छ। यसको कुनै अर्को विकल्प नहुने रंगकर्मी तथा निर्देशक अनुप बरालले बताए।

महामारी रहुञ्जेल रंगमञ्चको गतिविधि सामाजिक सञ्जालमार्फत हुनुपर्ने उनको भनाइ छ। “यो महामारी कहिलेसम्म सकिन्छ भन्ने यकिन छैन्। यस्तो अवस्थामा दर्शकलाई इङ्गेज राख्न सोसियल नेटवर्कको माध्यमबाट अगाडि बढाउनुपर्छ।” उनले भने।

अवस्था सहज भएपछि मात्र थिएटरमा नाट्य गतिविधि अगाडि बढाउनुपर्ने भन्दै त्यो अवस्था आउँदासम्म पुराना नाटकको लाइभ-स्ट्रिम गर्न सकिने उनले बताए।

“स-साना नाटक, नाटकका गीतको प्रस्तुति, नाटकका विषय, रूप र शैलीमाथि बहस-विमर्श लगायतका गतिविधि गर्नुपर्छ। ‘आइसोलेसन’ मा बसेका अलग-अलग र एक्ला व्यक्ति नै यसका दर्शक हुन्छन्,” उनले भने।

तपाईको प्रतिक्रिया