काठमाडौं । ‘मान्छेले आफ्नो जीवनका भिन्नभिन्न कालखण्डमा निर्वाह गर्नुपरेका भूमिकामाथि न्याय गर्नु भनेको ती कुनै पनि भूमिकामा आफूलाई मिसाउँदा आफ्नो मौलिकतालाई कायम राख्न सक्नु नै हो । त्यो आफ्नोपन विश्वम्भरजीले आजसम्म आफूभित्र जीवित राख्नुभएको रहेछ‘।’
उल्लिखित भनाइ हुन्, वरिष्ठ कलाकार, फिल्म निर्माता एवम् निर्देशक नीर शाहका । अर्थशास्त्री एवम् पूर्वराजदूत विश्वम्भर प्याकु(यालको संस्मरण ‘आफैंलाई खोज्दा’ अध्ययन गरेपछि शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।
शाह भन्छन्, ‘गाउँले देहाती हुँदा होस् अथवा सहरिया विद्यार्थी, राजनीति गर्दा होस् वा साहित्य लेख्दा, प्रेम गर्दा होस् अथवा विवाह गर्दा, कुक हुँदा होस् अथवा कन्सल्टेन्ट हुँदा होस्, मन पग्लिँदा होस् अथवा बाक्लिँदा‘ । यी सबै कडीलाई एउटै तत्त्वले सधैं जोडेको रहेछ । र त्यो तत्व उहाँ स्वयं र उहाँको जीवन दर्शनले बनाएको रहेछ, जो आजसम्म पनि भत्किएको रहेनछ । मैले ‘आफैंलाई खोज्दा’ पढ्दा यिनै सत्य भेटें र यसरी नै बाँच्ने प्रेरणा पनि‘ ।’
प्याकु(यालको यही संस्मरणात्मक कृति आइतबार सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका बीच पुस्तक भिडियो मार्फत सार्वजनिक गरिएको हो । सभासम्मेलन र सामूहिक भेला गर्ने अवस्था नरहेकाले यसैलाई आत्मसात् गर्दै भिडियोमार्फत पुस्तक सार्वजनिक गरिएको फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले जानकारी दिए । ‘यति बेला कोभिडको महामारीमा विश्व नै स्तब्ध छ,’ उनले भने, ‘यही संकटका बीच हामीले आफ्ना कार्यलाई पनि जारी राख्नुपरेको छ । त्यसैको निरन्तरता हो, यो काम पनि ।’
बैङ्कर एवम् स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन भन्छन्, ‘मेरो तीन दशकको बैङ्किङ व्यवस्थापनको अनुभवमा प्याकु(याल जस्तो विश्लेषणात्मक तथा बोल्नमा कुनै कन्जुस्याइँ नगरी निर्धक्क बोल्न सक्ने अर्थशास्त्री भेटेको छैन ।’ त्यस्तो व्यक्तिको संस्मरण सबैका लागि उपयोगी हुन सक्ने उनको भनाइ छ ।
७० को दशकमा लेखेको ‘तिमीले भनेका सारा देव छोएर’, ९० दशकमा ‘आँखाहरूमा चाह अल्झिँदा’ र पछिल्लो समय ‘तिमीमा एउटा नशा छ्, आँखामा आर्को मादकता छ’ जस्ता गीत लेखेका प्याकु(याल देशकै आदर्श रहेको महर्जनले बताए । पुस्तकमा प्याकु(यालले आफ्नो सङ्घर्ष एवम् आरोहअवरोहलाई सटिक किसिमले प्रस्तुत गरेको उनको भनाइ छ ।
सरल प्रस्तुति रहेको पुस्तकले त्यो बेलाको युग, समाज र व्यवस्थालाई बुझ्न सघाउने युवा नेत्री रामकुमारी झाँक्रीले बताइन् । अहिलेको पुस्ताले पढ्ने, सिक्ने र अनुसरण गर्ने धेरै विषय पुस्तकमा रहेको उनको भनाइ छ । अहिलेको पुस्ताका लागि प्याकु(यालको यो पुस्तक प्राथमिक विद्यालय रहेको उनको दाबी छ ।
‘नेपाली समाजले कामको वर्गीकरण गर्छ । कामको इज्जत गर्दैन । कामको सिन्को नभाँच्ने मान्छेलाई भाग्यमानी ठान्छ । व्यक्ति स्वयम्ले निजी जीवन कसरी बाँच्ने, केके गर्न हुने, केके गर्न नहुने आदि अनेक मानक हाम्रो समाजले बनाएको छ,’ उनले भनिन्, ‘तर प्याकु(यालले समाजले खडा गरेका ती सबै सबै मानक र तगारा पन्छाउँदै आफ्नो स्वतन्त्र र स्वाभिमानी जीवन बाँच्नुभयो । जुन कुरा पुस्तकमा झल्किन्छ ।’
जीवनमा आफूले भोगेका सुखदुःख, उत्साह, उमङ्ग र पीडाहरूलाई पुस्तकमा लिपिबद्ध गरेको लेखक प्याकु(यालले बताए ।
‘मैले आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै उतारेको छु । विद्यार्थी जीवनका बेला एक्टिभिस्ट भएर जेल पनि गएँ । विद्यालयमा शिक्षण गरें । विश्वविद्यालयमा लामो समय प्राध्यापनमा बिताएँ,’ उनले भने, ‘गीत, कथा, कविता लेखें । सङ्गीतकार, गायक अनि लेखकहरूसँग निकट भएर बिताएँ । उनीहरूसँगको सम्बन्धमा रमाएँ । कति वर्ष उत्पादनशील भएँ, कति वर्ष अनुत्पादक पनि भएँ होला । उच्चशिक्षा हासिल गर्न अमेरिका गएँ । शिक्षाको स्तर बढाउँदै गएँ । जीवनमा गल्ती पनि भए । तर सुधार गर्नुपर्छ भन्नेमा सधैं सचेत रहें । जीवनमा विभिन्न ठाउँमा पुरस्कृत भएँ । कहीँकतै अपमानित पनि भएँ ।’ यिनै विविध घटना एवम् विषयको समग्र प्रस्तुति नै आफ्नो पुस्तक रहेको उनको भनाइ छ ।