अभिनेता राजेश हमालको युगदेखि नेपाली फिल्ममा हिरोको एउटा मानक स्थापित भयो । त्यसबेला अग्लो कद, आकर्षक अनुहार, वजनदार आवाज र सुगठित शरीर भएकोलाई मात्र हिरो मानिन्थ्यो । यो मानकभित्र नपर्नेलाई न दर्शकले हिरो मान्थे न मेकरले नै हिरो बनाउन जोखिम उठाउँथे । तर, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीलगायतले यो मानकको पर्खाल भत्काएका छन् ।
अहिले दर्शकले अभिनयको आधारमा कलाकारको मुल्यांकन गर्न थालेका छन् । जसले गर्दा लुक्सको भरमा नेपाली फिल्ममा दबदबा कायम गर्ने सपना बुनेका चकलेटी हिरोहरुलाई करिअर जोगाउन समेत धौ-धौ परेको अवस्था छ । अहिले केही कलाकारहरु लामो रेसको घोडा बन्न अभिनय सुधारमा मेहनत गरिरहेका छन् । केही भने अझै आफ्नो लुक्सको भरोसामा छन् ।
‘होस्टेल रिर्टन्स’ बाट डेब्यू गरेका अभिनेता सुशील श्रेष्ठले पनि आफ्नो शरीर देखाएर चल्ने प्रयास गरे । डेब्यू फिल्म ठिकठाक चल्यो पनि । तर, यसपछि न उनको सुकिलो अनुहार विक्यो न सिक्स प्याक शरीरले हलमा दर्शक तान्न सफल भयो । ‘कारखाना, सायद २, बादशाह जुट र लभ डायरीज’ को असफलताले यतिबेला उनको फिल्म करिअर पानी बिनाको माछा झैँ भएको छ ।
अचेल फिल्म क्षेत्रमा उनको उदाहरण दिँदै धेरैले भन्ने गरेका छन्, ‘आकर्षक अनुहार र सुगठित शरीर हुँदैमा कलाकार चल्दैन ।’ ‘होस्टेल रिर्टन्स’ पछि फिल्म छनौटमा गम्भीर नहुनु र शरीर बनाउन झैँ अभिनय सुधारमा मेहनत नगर्नुले सुशीलको करिअरले उचाइ लिन नसकेको मानिन्छ । तर, उनले यी कुराको प्रवाह गरेको देखिन्न । उनी आफ्नो शरीर देखाएरै चल्ने धाउन्नमा छन् ।
सुशीलले शनिवार फेसबुकमा एक तस्विर पोस्ट गरेका छन्, जसमा उनले आफ्नो सुगठित शरीर देखाएका छन् । मौनताले धेरै कुरा बताउने उल्लेख गर्दै उनले नयाँ कामका लागि तयारी भइरहेको बताएका छन् । अहिले उनी नयाँ फिल्मका लागि शरीर बनाउन मेहनत गरिरहेको बुझिएको छ । तर, उनले शरीर बनाउन गरेको मेहनत अभिनय सुधारमा चाहिँ कहिले गर्ने हुन् कुन्नी ?