कक्षा ८ सम्म पाल्पाको गाउँकै स्कूलमा अध्ययन गरेँ । थप अध्ययनका लागि तानसेन जानुपथ्र्यो । घरबाट तानसेन पुग्न दुई घन्टा लाग्थ्यो । घरबाटै स्कुल आउजाउ गर्न सम्भव थिएन । त्यसैले तानसेनमा कोठा लिएँ । त्यसअघि तानसेन गएको पनि थिइनँ । परिवारसँग छुट्टिएर कहिल्यै नबसेको हुनाले मलाई ‘होमसिक’ हुन्थ्यो अनि स्कूलबाट भागेर घर पुग्थेँ ।

गाउँमा हुँदा पढाइमा अब्बल थिएँ । ‘टप थ्री’मा एउटा पोजिसन मेरै हुन्थ्यो । तानसेन आएपछि भने डेराको बसाइ, होमसिकनेस र कक्षा छोडेर भगाइका कारण पढाइ खस्कियो । कक्षा ९ बल्लतल्ल पास गरेँ, सन्तोषजनक नतिजा आएन । कक्षा १० मा पुग्दाचाहिँ कोठामा बस्ने बानी परिसकेको थियो । एसएलसी दिनुपर्ने भनेपछि पढाइमा विशेष ध्यान दिएँ । पूर्व गृहमन्त्री माधव घिमिरे र म क्लासमेट थियौं । एसएलसीअघिको टेस्ट परीक्षामा हामी दुवैजना तेस्रो भयौं ।

एसएलसी तयारी बिदा भएपछि म गाउँतिर गएँ । पढाइ त चौपट भयो । माधवले चाहिँ एसएलसीको राम्रो तयारी गर्नुभएछ, त्यसैले बोर्ड थर्ड हुनुभयो । टेस्टमा दुवैजना तेस्रो भएकाले मनमनै म पनि बोर्ड थर्ड भएँ कि भन्ने आशा थियो । तर, सेकेण्ड डिभिजनमा पास भएछु ।

एसएलसी दिनुभन्दा अघि भविष्यमा के बन्ने, कसो गर्ने भन्ने केही सोचिएन । २०३४ सालमा एसएलसी पास भएपछि चाहिँ अब के पढ्ने होला भन्ने लाग्न थाल्यो । बुबाहरू पनि गाउँमै बस्ने भएकाले उहाँहरूलाई यतातर्फ खासै जानकारी थिएन । गाउँको एकजना साहुले मेरो बुबालाई ‘छोरोलाई हेल्थ एसिस्टेन्ट पढाउनू’ भन्नुभएछ । बुबाले घरमा आएर मलाई भन्नुभयो । बायोलोजी नै पढ्ने हो भनेपछि सहज पनि लाग्यो र काठमाडौं बसेर पढ्ने भनेपछि उत्साहित पनि भएँ । विज्ञान त्यसमा पनि बायोलोजी मलाई विद्यालय तहदेखि नै सहज लाग्थ्यो । बुबाको कुरा सुन्नेबित्तिकै डाक्टर बन्ने सपना बुन्न थालेँ ।

काठमाडौं आएँ । महाराजगञ्जस्थित इन्स्टिच्युट अफ मेडिसिनमा हेल्थ असिस्टेन्ट अध्ययन पढ्न सुरु गरेँ । त्यसबेला एकजना दाइ पनि काठमाडौंमा हेल्थ असिस्टेन्ट पढ्दै हुनुहुन्थ्यो । केही समय दाइ र म कोठा लिएर बस्यौं । तर, पहिलो सेमेस्टर केही समय पढेपछि होस्टलमा बस्न थाल्यौं । हेल्थ असिस्टेन्ट अध्ययन सुरु गर्दा पहिलो सेमेस्टरको सुरु—सुरुमा निकै गाह्रो भयो । यो विषय पढ्न सकिँदैन कि भनेर हतोत्साही पनि भएँ । तैपनि हिम्मत नहारी अध्ययन गरेँ, परीक्षा दिएँं । पहिलो सेमेस्टरमा पाँच जनामात्र क्लिन पास भए । त्यसमा पाँचौं नम्बरमा म पनि परेछु । त्यसपछि फुरुङ्ग भएँ । पढ्न पनि रुची बढ्न थाल्यो । यो नै मेरो जीवनको एउटा टर्निङ प्वाइन्ट बन्यो ।

थर्ड सेमेस्टरसम्म पुग्दा टप पोजिसनमा आएँ । आफ्नै बलबुताले सफलता पाएपछि मेरा कमजोरी पनि सबै हट्दै गए । हरेक विषयमा सक्षम हुन थालँे । किशोरावस्था एउटा चञ्चले उमेरका साथै व्यक्तित्व विकास गर्ने बेला पनि रहेछ । यस्तो बेला सानो सफलताले पनि धेरै खुशी बनाउँदो रहेछ । हामी आफैंमा कोही बेबकुफ, बुद्धु वा भयंकर स्मार्ट भन्ने हुँदैनौं । सबैसँग आ–आफ्नै क्षेत्रको ज्ञान, शक्ति र सम्भावना हुन्छ । त्यो कसरी प्रस्फुटन हुन्छ भन्नेचाहिँ शैली र वातावरणमा भर पर्छ ।

किशोर छँदा धेरैजनामा विभिन्न सोच आउँछ । त्यो आफैं आउन सक्छ अथवा अरु कसैले गरेको गाली, ताली र सुझावका कारण धारणा बन्छ । मलाई पनि त्यस्तै भयो । त्यो बेलामा डाक्टर हुनु नै सबैभन्दा ठूलो कुरा थियो । त्यो बेलासम्म मलाई पैसा तिरेर अरु देशमा गएर पढ्न पाइन्छ भन्ने पनि थाहा थिएन । तर मलाई पढाउने शिक्षकले सर्जन बन्नुपर्छ भनेपछि चाहिँ मनमा चाह पलाएको थियो ।

मलाई किशोर छँदा मनपर्ने खेल भनेको ब्याटमिन्टन थियो । होस्टलमा बस्दा पनि म धेरैजसो ब्याटमिन्टन नै खेल्थेँ । अहिले पनि फुर्सदको समयमा कहिलेकाहीँ खेल्छु । अरु खेलमा पनि रुचि छ, खेलिरहन्छु । एकदिन महाराजगञ्ज क्याम्पसका साथीहरूले क्रिकेट सिकाउन भनेर लगे । जिन्दगीमा मैले पहिलोपटक ब्याट समातेको त्यहिबेला हो । एकजना अग्लो साथीले बलिङ गर्दा बल ढुंगामा लागी उछिट्टिएर मेरो च्यापुमा लाग्यो । त्यसपछि मैले जिन्दगीमा कहिल्यै क्रिकेट भने खेल्ने आँट गरिनँ ।

त्यो बेला शनिबार एक दिन फुर्सद हुन्थ्यो । महाराजगञ्जमा एउटा साइकल पसल थियो । त्यहाँ ५० पैसामा साइकल भाडामा पाइन्थ्यो । साइकल लिएर बुढानिलकण्ठसम्म पुगिन्थ्यो । त्यो पल सम्झँदा अहिले पनि आनन्द लाग्छ ।

धेरैको किशोरावस्थामै प्रेमसम्बन्ध बसेको पनि सुनेको छु । तर म किशोर छँदा भने ध्यान पढाइमै बढी केन्द्रित भयो । त्यसैले प्रेमसम्बन्ध गाँस्नेतिर ध्यानै गएन ।

तपाईको प्रतिक्रिया