मालिका केशरीद्वारा लिखित तेस्रो उपन्यास दुङाल विमोचनको प्रतीक्षामा छ । केशरीका दुई उपन्यास पुनरुत्थान र सुवर्णलताले यसअघि नै बजारमा आएर लाखौं पाठकको मन जितिसकेका छन् । नारी पात्रमा डुब्नसक्ने र बुद्ध दर्शनलाई लेखनीमा समेट्ने केशरी उपन्यासबारे जानकारी दिनुहुन्छ, ‘दुङाल शब्द नेपाली होइन, तिब्बती हो ।

उपन्यासको पृष्ठभूमि तिब्बती समाज भएकाले त्यहींको भाषाबाट पुस्तकको नामकरण गर्दा सुन्दर हुन्छ भन्ने लागेर दुङाल नाम राखिएको हो ।अघिल्ला उपन्यासबाट पाठक जति सन्तुष्ट थिए, दुङालबाट सम्भव छ भनी गरिएको प्रश्नको जबाफमा उहाँ भन्नुहुन्छ, ‘सर्वप्रथम मेरा प्यारा पाठकहरु जसले मेरा अघिल्ला दुवै कृति सफल तुल्याइदिनुभयो, उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पक्कै पनि दुङालमा मैले फरक प्रस्तुतिका साथ फरक कथावस्तु ल्याएको छु । पाठकले मेरा पूर्वकृतिलाई जस्तै माया दिनुहुने विश्वास लिएको छु ।

कतिपय आख्यानकारहरुले किताबभित्रको गुदीभन्दा वढी हाइफाई गरेको देखिन्छ, तर केशरी त्यस प्रकारको व्यवहारमा विश्वास गर्नुहुन्न । भन्नुहुन्छ, ‘कसैले त्यसो गर्छन् भने त्यो उहाँहरुको व्यक्तिगत कुरा हो । म त्यसमा केही बोल्न चाहँदिन । सतही, हाइफाई र गम्भीर आख्यान छुट्याउन सक्ने क्षमता पाठकवर्गमा छ भन्ने मलाई लाग्छ । समाजलाई मार्ग प्रस्तुत गर्ने लेखकहरु नै हुन् । त्यसैले क्षणिक लाभलाई हेरेर हलुका रचनामा रमाउनुभन्दा दीर्घकालसम्म रहने लेखनी हुनुपर्छ भन्ने मलाई लाग्छ । म स्वयं भने बजारको मागभन्दा पनि मेरो मनले छोएको विषयमा लेख्न मन पराउँछु ।

’उहाँंको लेखाइमा बढी मायाप्रेम, दर्शन जोडिएको भेटिन्छ, के यो लेखककै भोगाइ हो ? ‘माया प्रेममा नडुबेको व्यक्ति को होला र यो संसारमा ? कुनै दर्शनले नबाँधिएको मानिस पनि सायदै होला । लेखन पनि स्वयंको भोगाइ र अनुभूति नै त हो । यसैले यी कुरा मेरो लेख रचनामा भेटिनु स्वाभाविक हो भन्ने मलाई लाग्छ ।

सानो उमेरदेखि मनमा लागेको कुरा लेख्ने बानी परेका केशरी पुरस्कार, नाम र अर्थका लागि भन्दा पनि स्वयंलाई व्यक्त गर्न लेख्ने गरेको बताउनु हुन्छ । कर्म गर्दै जाँदा नाम, दाम, पुरस्कार प्राप्त भए हात थाप्नु बेग्लै कुरा हो भन्नुहुन्छ ।‘मैले इमान्दारीका साथ प्रयत्न गरेको छु । मैले मेरो पूर्व कृतिमा भएका कमीलाई यस कृतिमा मेटाउने प्रयास गरको छु ।

पाठकको पूर्ववत् स्नेह पाउनेमा म विश्वस्त छु‘ भन्ने केशरीलाई सबैले पेशागत जीवनमा प्रकाश श्रेष्ठका नामले चिन्छन् । हजारौँ पत्रकारका बीच प्रशासक बनेर व्यावसायिक जीवन चलाउँदै आएका श्रेष्ठलाई मालिका केशरीका नामले चिन्ने त साहित्य अनुरागीहरुले मात्र हो । ‘दुङाल’ एक समारोहका बीच आगामी भाद्र ५ गते विमोचन हुने पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया