विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभएको छ ।
सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकका अन्य ठाउँमा मात्रै होइन विराटनगरमा पनि धेरै राम्रा सहकारी भएको बताउनुभयो । उहाँले सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुनेमा जोड दिनुभयो । ‘सहकारीको मर्म र भावनाअनुसार सञ्चालित थुप्रै सहकारीहरू छन् । उनीहरूले बचतकर्ता र ऋणी दुवैलाई सेवा प्रवाह गरिरहेका छन्,’ उहाँले थप्नुभयो, ‘तर केही सहकारीका कारण उनीहरू सबैको बदनाम भइरहेको छ ।’ मेयर कोइरालाले सहकारीहरूबीच असल कार्य गर्ने विषयमा प्रतिस्पर्धा हुनु आवश्यक रहेको औंल्याउनुभयो । ‘सहकारीहरूमा असल अभ्यास पनि भएका छन्,’ उहाँले थप्नुभयो, ‘राम्रो अभ्यास र काम गर्ने सहकारीबाट अन्य सहकारीले पनि पाठ सिक्नुपर्छ ।’ विराटनगरमै पनि निकै उत्कृष्ट सहकारीहरु सञ्चालनमा रहेको उहाँको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरभित्रका सहकारीलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीलाई व्यवस्थित र पारदर्शी तथा जवाफदेही बनाउन बेला–बेला अनुगमन गर्ने गरेको सुनाउनुभयो । उहाँले गलत गर्ने सहकारीलाई कारबाहीसमेत गर्ने गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश सहकारी रजिष्टार कार्यालयका हरिबहादुर खत्री, महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलालगायतले सहकारीको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
अन्तरक्रियापछि आयोजित नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी प्रशिक्षणसमेत आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरूलाई सीए सुरज तिम्सिनाले सहजीकरण गर्नुभयो । सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार महानगरको क्षेत्राधिकारभित्र १७२ वटा सहकारी सञ्चालनमा रहेका छन् । त्यसमध्ये हालसम्म ६१ वटाको अनुगमन, १२५ वटा सहकारीले नियमित वित्तीय वितरण बुझाएको, ११० वटा सहकारीले शेयर सदस्यहरूको विवरण पठाएको राईले जानकारी दिनुभयो । त्यस्तै ११७ वटा सहकारीले साधारणसभाको प्रतिवेदन बुझाएका छन् । व्यवस्थापन सूचना प्रणाली (कोकोमिस) मार्फत सहकारीको कारोबारलाई व्यवस्थित बनाउने भइरहेको उहाँले बताउनुभयो । कोकोमिसमा हरेक सहकारीले समष्टिगत प्रतिवेदन, मासिक प्रतिवेदन, साधारणसभाको विवरण, शेयर सदस्यको विवरण, निर्वाचन प्रतिवेदनलगायत समावेश गर्नुपर्दछ ।
तालिममा महानगरको क्षेत्राधिकारभित्र रहेका १७२ सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको छ ः मेयर कोइराला
