उत्पादन र मूल्यको नक्कली लेबल लगाएर औषधि भन्दै खुलेआम ‘न्युट्रास्युट्रिकल्स’ बिक्री गर्ने–गराउने मोरङका एक व्यापारीलाई उन्मुक्ति दिन आवश्यक चलखेल भएको पाइएको छ । म्याद गुज्रिएका खाद्यपुरक सामग्री अवैध रुपमा आयात गरेर नक्कली उत्पादन र मूल्यको लेबल लगाएर बजारमा बिक्री गर्दै आएका व्यापारी विनोद झालाई राजश्व अनुसन्धान कार्यालय, ईटहरीले उन्मुक्ति दिने प्रयास गरेको गाईंगुईं छ ।

गत पुस २८ गते विराटनगर महानगरपालिका–५ स्थित उनको घरको गोदाममा कार्यालयले छापा मारेर अवैध सामग्री, नक्कली लेबल टाँस्ने र छाप लगाउने मेसिनसहित झालाई नियन्त्रणमा लिएको थियो । तर, कार्यालयले तीन दिनभित्र हाजिर हुन आउनु भनेर गोदाममा सिल गरेर छोडेको हो । झाका चालक भने अझै नियन्त्रणमा छन् । झा पक्राउ परेको सूचना उच्च अदालत, विराटनगरले राजस्व छलीको आरोपमा म्याद थप गरेपछि मात्र बाहिर आएको हो ।

झालाई हिरासतमा राखेर अनुसन्धान गर्न कार्यालयले १३ दिनको म्याद मागेको थियो तर अदालतले पाँच दिनको मात्र थपेको छ । राजस्वसँगको मिलेमतोमा निर्वाध ‘न्युट्रास्युट्रिकल्स’ फुडको अवैध कारोबार गर्दै आएका झा राजश्वको हरियो झण्डा पाएपछि भारततर्फ फरार भएका थिए । उनले मुद्दालाई उतैबाट मिलाउन अनेक प्रयास गरेको बताइन्छ ।

घटनाको मिलापत्र भएको जानकारीपछि नेपाल फर्किएका उनी आनन्दसँग आफ्नो घरमा बसिरहेका थिए । उनी फर्किएको थाहा पाउँदा पनि कार्यालयका कर्मचारी हात बाँधेर बसे । तर, केही सचेत स्थानीयले चेतावनीसहित राजस्वलाई दबाब दिएपछि अस्ति उनलाई नियन्त्रणमा लिइएको हो । हाल ईलाका प्रहरी कार्यालय, ईटहरीको हिरासतमा रहेका झालाई पक्राउ गरेर अनुसन्धान गरेकोबारे राजस्वले कुनै सूचना सार्वजनिक गरेको छैन ।

बरु, राजस्वका प्रमुख अनुसन्धान अधिकृत उत्तमकुमार घिमिरेले झालाई नियन्त्रणमा लिएको सूचना गोप्य राख्न प्रहरीलाई निर्देशन दिएको भनिन्छ । तीन वटा जघन्य कसूर गरेका उनीमाथि राजश्व छलीमा मात्र अनुसन्धान गरिँदैछ । जबकि, मूल्य र उत्पादन मितिको नक्कली लेबल लगाएको, कालोबजारी र औषधि पसलमा बिक्री गर्न नहुने खाद्य पुरक सामग्रीहरु बिक्री गरिएको कसूरमा पनि अनुसन्धान हुनुपर्ने थियो । तर, औषधि व्यवस्था विभाग, उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको कार्यालयसम्म ‘तैं चुप, मैं चुप’ गरेर बसेको अवस्था छ ।

जसले बिरामीको स्वास्थ्यसँग खेलबाड गर्दै ‘न्युट्रास्युट्रिकल्स’ सामग्रीमा उत्पादन र म्याद गुज्रिएको मिति मेटाएर नक्कली मितिको लेबल राखेर कालोबजारी गर्न नियमनकारी निकायले नै छुट दिएको प्रष्ट भएको छ ।

‘न्युट्रास्युट्रिकल्स’ सामग्रीका आयातकर्तासमेत रहेका ५१ वर्षीया झाको विराटनगरको भूमिमार्गस्थित गोदामबाट म्याद गुज्रिएको र सक्कली लेबल उप्काएर नक्कली लेबल टाँसेको चार दर्जन बढी खाद्यपुरक सामग्री र ४० वटा नक्कली स्ट्याम्प बरामद भएको थियो । त्यसबाट उनले नक्कली कागजातहरु प्रयोग गरेर अवैध रुपमा अनुमति नै नभएको खाद्यपुरक सामग्री आयात गरेर नक्कली लेबल लगाएर बिक्री गर्दै आएको खुलेको हो ।

‘न्युट्रास्युट्रिकल्स’ एशोसिएशन मोरङका अध्यक्षसमेत रहेका उनले एक दशक अघिदेखि यस्तो अवैध धन्दा चलाउँदै आएको बुझिएको छ । उनले आफनो साक्षी मेडिलिंकमार्फत भारतबाट ‘न्युट्रास्युट्रिकल्स’ सस्तोमा ल्याउने र १० गुणा बढी मूल्य राखेर नेपालका विभिन्न औषधि पसलमा पठाउने गरेका थिए ।

‘न्युट्रास्युट्रिकल्स’ औषधि नभएर एक प्रकारको भिटामिन हो । यसलाई चिकित्सकहरुले बिरामीका लागि प्रेस्क्राइभ गर्छन् । यो झोल, क्याप्सुल र ट्याब्लेट फर्ममा पाइन्छ । लामो समयदेखि एन्टिबायोटिक औषधी खाइरहेकाहरुले शरीरमा कमजोरी नहोस् भनेर ‘न्युट्रास्युट्रिकल्स’को सेवन गर्छन् । तर, यो औषधि व्यवस्था विभागमा दर्ता भएको हुँदैन । औषधि नभएकाले फार्मेसी पसलले यी सामग्री बिक्री गर्न मिल्दैन । तर, अनुगमन नहुँदा खुलेआम यस्ता औषधिको बेचबिखन भइरहेको छ ।

तपाईको प्रतिक्रिया