एजेन्सी । कोरोना भाइरस ‘कोभिड १९’ विश्वको १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ । कोरोनाको संक्रमणले लाखौं मानिस बिरामी परेका छन् भने हजारौंको ज्यान गुमिसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेपछि विभिन्न देशहरु लकडाउन भएका छन् । कोरोनाका कारण विभिन्न देशबीचको व्यापार तथा पर्यटन ठप्प हुँदा यतिबेला विश्वको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ ।

संकटको घडीमा विभिन्न देशले कोरोनाको संक्रमण फैलन नदिन विभिन्न उपाय अबलम्बन गरेका छन् । यसबीचमा कस्ता मानिसहरुमा यो भाइरसको संक्रमण उच्च हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भन्नेबारे सबैलाई चासो छ । यहाँ बेलायती सरकारले जारी गरेको सन्देश उल्लेख गरिएको छ ।

कस्ता मानिसमा कोरोनाको जोखिम उच्च हुन्छ ?
बेलायती सरकारको अनुसन्धानअनुसार ७० वर्षमाथिका मानिस र स्वास्थ्य अवस्था बिग्रिएका मानिसहरुमा कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणको जोखिम उच्च हुन्छ । स्वासप्रस्वासका समस्या भएका मानिस र ७० वर्षमाथिका मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने सरकारको वेबसाइटमा सुझाब दिइएको छ ।

यस्तै मुटुका रोगी, धेरै तौल भएका मानिस र एचआइभी र एड्स लागेका मानिस पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । शरीरको अंग प्रत्यारोपण गरिएका व्यक्ति, क्यान्सर लागेका, केमियोथेरापी गरिरहेका मानिसमा कोरोनाको जोखिम हुन्छ ।

उच्च जोखिम कसलाई ?
– ७० वर्षमाथिका मानिस
– आस्थ्मा भएका मानिस, घातक मुटुको रोगी, घातक किड्नीको रोगी
– मस्तिष्क सम्बन्धी रोग लागेका मानिस
– डाएबेटिज भएका मानिस
– प्रतिरोधात्मक क्षमता कम भएका मानिस। जस्तै एचआइभी र एड्स लागेका मानिस
– धेरै ओजन भएका मानिस
– गर्भवती महिला
– शरीरको अंग प्रत्यारोपण गरिएका व्यक्ति
– क्यान्सर लागेका व्यक्ति, केमियोथेरापी गरिरहेका मानिस
– ब्लड क्यान्सर भएका मानिस

कोरोना भाइरसको लक्षण के–के हुन् ?
यस भाइरसले निमोनिया निम्त्याउँछ । जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, नाकबाट पानी निस्कने, घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने संकेत देखिन्छ । संक्रमण गम्भीर बनेको अवस्थामा मानिसका अंगले काम गर्न छाड्छ ।

भाइरल निमोनिया निम्त्याउने भएकाले यसको संक्रमणपछि एन्टीबायोटिकले काम गर्दैन । फ्लूविरुद्ध प्रयोग हुने औषधिले यस भाइरस मार्न सक्दैन । संक्रमणबाट निको हुने सम्भावना मानिसमा रहेको प्रतिरक्षा प्रणालीमा निर्भर हुन्छ । कोरोनाबाट धेरै ज्यान गुमाउनेहरु अस्वस्थ्य मानिसहरु हुन् ।

मानिसबाट सर्छ कोरोना भाइरस ?
यस नयाँ कोरोनाभाइरस मानिसदेखि मानिसमा अत्यधिक सरेको देखिएको छ । कोरोना संक्रमितसँग नजिकैबाट बोल्दा उनको थुक, कफको थोपाबाट यस भाइरस सर्छ । कोरोना संक्रमितले छोएको बस्तुसँग मानिसको मुख, नाक र आँखा सम्पर्कमा आए यस भाइरस सर्छ ।

कफ भएको अवस्थामा के गर्ने ?
बेलायतको स्वास्थ्य अधिकारीहरुले कफ भएको अवस्थामा अस्पताललाई खबर गर्न सुझाव दिएको छ । कोरोनाको कुनैपनि लक्षण देखिए अस्पताल भर्ना हुनुपर्छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट भ्रमण गरेर फर्केको भए घरभित्रै कोहीसँग सम्पर्कमा नआएर बस्नुपर्छ । यस्तै अस्पतालमै उपचार गराउन चिकित्सकहरु सुझाव दिन्छन् ।

कोरोनाबाट कसरी बच्ने ?
हालसम्म कोरोनाको औषधि बनिसकेको छैन । विश्व स्वास्थ्य संगठनले विश्वभर २० भन्दाबढी कोरोनाको भ्याक्सिन बनिरहेको बताएको छ । केही भ्याक्सिन अमेरिकाले परीक्षण गरिरहेको छ । तत्काललाई कोरोनाबाट बच्न हामीले कोरोनाबाट संक्रमित बिरामीसँग सम्पर्क गर्नुहुन्न । मुख र नाक मास्कले छोप्नुपर्छ । कफ र नाकबाट पानी बग्ने समस्या भए त्यसलाई हातले छुनुहुन्न । साबुन पानीले लगातार हात धुने गर्नुपर्छ ।

विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः
– स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस् । २० सेकेन्डसम्म हात धुनुपर्छ ।
– हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस्
– ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस्
– ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोस् र चिकित्सकलाई आफ्नो यात्राको विवरण दिनुहोस्
– जीवजन्तुबाट उत्पादित खानेकुरा काँचै तथा कम पकाएर नखानुस्। मासु वा दूधजस्ता खानेकुरा तयार गर्दा काँचोबाट पाकेकामा संक्रमण हुन नदिनोस् ।

तपाईको प्रतिक्रिया