करिव आठ वर्ष पहिला नायिका रेखा थापाको नाम चलचित्र विकास बोर्डको भावि अध्यक्षका रुपमा खुबै चर्चामा थियो । धेरैले त रेखालाई बधाई तथा शुभकामना पनि दिन भ्याइसकेका थिए ।

तर, रेखा विकास बोर्डमा अध्यक्ष बन्न पाइनन् । उमेर कच्चा र अनुभव नभएको भन्दै अन्य चलचित्रकर्मीले विरोध गरे ।

‘चलचित्रमा रेखाको दिन सकियो, अब त रेखा पनि बुढी भई’ भन्नेहरुले नै उनी सानै छिन् भनेर विरोधमा उत्रिएको देख्दा रेखालाई ताजुब लागेको थियो ।

विकास बोर्डमा त्यो बेला पनि राजनीतिक नियुक्ती नै हुन्थ्यो । रेखालाई तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको समर्थन थियो । तर, विरोधपछि रेखा पछि हटिन् र नियुक्त भए, धर्मेन्द्र मोरबैता ।

त्यो समय चलचित्र विकास बोर्डमा अभिनेत्री अध्यक्ष बन्ने हल्ला चल्दा सबैको मनमा ढ्याङ्गो बज्नु निकै ठुलो कुरा भएको रेखा बताउँछिन् ।

उनले भनिन्, ‘त्यो बेला बोर्डको अध्यक्ष बन्ने कुरा कोही पनि अभिनेत्रीको दिमागमा थिएन । सदस्य हुनु पनि ठुलो कुरा थियो । तर, मैले अध्यक्ष बन्ने नै सोचेँ । जुन कुरा अरुलाई पचेन र विरोध गरे ।’

आफूले युवा चलचित्रकर्मीहरुमा पनि विकास बोर्ड अध्यक्षको कुर्सी ताक्न सक्ने हिम्मत दिएको रेखाको भनाई छ । ‘सबै पाको उमेरका व्यक्तिमात्र विकास बोर्डमा हुनुपर्छ भन्ने छैन भन्ने उदाहरण मैले दिएको थिएँ,’ रेखा आफैंमा गर्व गर्छिन् ।

०००

अहिले पनि चलचित्र विकास बोर्ड अध्यक्ष खोजी भइरहेको छ । अध्यक्षको लागि सरकारले आवेदन खुल्ला गरिसकेको छ । केही चलचित्रकर्मीहरु अध्यक्ष बन्ने दौडमा छन् ।

यो दौडमा पूरानो पुस्ताका अभिनेतादेखि नयाँ पुस्ताका अभिनेतासम्म देखिएका छन् । निर्देशक दयाराम दाहाल, अभिनेता शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, सोहित मानन्धर लगायत अध्यक्षमा आउन लागेको चर्चा थियो । तर, निखिल भने अहिले पुन: पछाडि हटेका छन् ।

अहिले अध्यक्षको लागि युवा पुस्ताका चलचित्रकर्मीको नाम अगाडि आइरहँदा रेखा खुसी छिन् । उनले भनिन्, ‘अध्यक्ष बन्नुहोला वा नबन्नुहोला फरक कुरा भयो । तर, युवा पुस्ताको नाम अगाडि आइरहँदा खुसी लागेको छ ।’

अहिलेसम्म बोर्ड हाँक्नेहरुको कामबाट रेखा सन्तुष्ट छैनन् । उनीहरुले केही पनि काम गर्न नसकेको रेखाको आरोप छ ।

‘विभिन्न फण्डाहरु मच्चाएर चर्चा त पाइरखे, तर कसैले राम्रो काम गर्न सकेन, रेखाले थपिन्, ‘यसअघि कोही पनि अध्यक्षले चलचित्रकर्मीहरुको लागि विकास बोर्ड छ भन्ने आभाष दिन सकेनन ।’

आगामी नेतृत्वबाट भने चलचित्रकर्मीले आफ्नो समस्यामा विकास बोर्डलाई गुहार्न सक्ने वातावरण बन्नुपर्छ भन्ने रेखाको चाहाना छ । अब विकास बोर्डमा जाने नेतृत्व भिजन बोकेको हुनुपर्ने उनी बताउँछिन् ।

उनले भनिन्, ‘हामीलाई चलचित्र क्षेत्र बुझ्ने मान्छे चाहिएको छ । चलचित्र क्षेत्रमा संलग्न हजारौ प्रतिभाको पलायन, असुरक्षा र अनिश्चितताको सम्बोधन गर्न सक्ने मान्छे चाहिएको छ । बिरालो थुन्ने होइन, बिरालोको घाँटीमा घण्टी बाँध्न सक्ने नेतृत्व चाहिएको छ । केही समय जागिर खाने, तर हजारौं कलाकार, प्राबिधिक, लगानिकर्ता र सर्जक डुबेको बेला कानमा तेल हालेर सुत्ने नेतृत्वले केही गर्दैन । मैले देखेकी छु, त्यो बोर्डमा जाने बेला ठुलो चर्चा हुन्छ । अनि गएपछि मान्छे हराउँछ ।’

१० देखि ५ सम्मको समय बिताएर तलव मात्र खाने भए त्यहाँ नजान रेखा सुझाउँछिन् । बरु राजनीतिक भर्ती नै उनलाई स्विकार्य छ ।

राज्यले कला क्षेत्रलाई उति महत्व दिँदैन । सबैभन्दा हेपिएको उद्योगमा पर्छ, चलचित्र उद्योग । अबको नेतृत्वले सरकारसँग आफ्नो अधिकार माग्न सक्ने हिम्मत राख्नुपर्ने रेखा बताउँछिन् ।

‘बैठकमा जाँदा नेताको कुरामा मुन्टो हल्लाएर मात्र फर्किनेहरुको केही मतलब हुन्न’, रेखाले थपिन्, ‘त्यहाँ पुगेपछि आफ्नो उद्योगको समस्या, यसको सम्भावना र यसले सरकारको आयमा पुर्‍याउने सहयोगका विषयमा पनि अध्यक्षले टेवल ठोकेर बोल्न सक्नुपर्छ । नेतासँगको एक सेल्फीमा रमाउने हाम्रो पारालाई त्याग्नै पर्छ ।’

चलचित्र क्षेत्रबाट राजनीतिक उन्नति नहुने भएकाले नेताहरुले यस क्षेत्रलाई हेला गरेको रेखाको बुझाई छ । नेताहरुले चुनावको बेला गीत गाउन तथा नाच्नको लागि मात्र कलाकारलाई सम्झिने गरेको उनले गुनासो गरिन् ।

उनले भनिन्, ‘चलचित्र क्षेत्रबाट पनि राजनीतिमा ठुलो प्रभाव पार्न सकिन्छ भन्ने कुरा कोही पनि अध्यक्षले सरकारलाई बुझाउन सकेनन् । अबको नेतृत्वले चलचित्र क्षेत्रको पावर पनि शो गर्नुपर्ने हुन्छ ।’

कला क्षेत्रको विकास र यसको प्रवद्र्धनको लागि पनि विकास बोर्डको नयाँ नेतृत्वले अभियन्ताको भूमिका निर्वाह गर्नुपर्ने रेखाले देखेकी छिन् ।

‘हामी सिमित बजारमा नै रमाइरहेका छौँ । बाहिरी बजारको विषयमामा हामीले खोजेकै छैनौँ । अबको नेतृत्वले बजार विस्तारलाई पनि जोड दिनुपर्छ’, रेखा भन्छिन्, ‘विदेशसँगै देशको विभिन्न ठाउँमा पनि चलचित्रको बजार बिस्तार गर्न जरुरी छ ।’

त्यस्तै, महामारीको समयमा समस्यामा परेका निर्मातालाई विकास बोर्डमार्फत सरकारबाट सहयोग उपलब्ध गराउन सक्ने हिम्मत नेतृत्वको हुनुपर्ने रेखाको भनाई छ ।

‘अलिकति सिमा मिच्दा लाठी र मुङ्ग्री बोकेर सिमानामा पुग्ने नेपालीहरु नेपाली कला र संस्कृतिमाथि हमला हुँदा चुप बस्छन् । हलिउड तथा बलिउड चलचित्रहरुले नेपाली कला संस्कृतिमाथि हमला गरिरहेका छन् । यो कुरालाई पनि नयाँ नेतृत्वले बुझ्न सक्नुपर्छ,’ उनले भनिन् ।

नेपालमा बसेर नेपाली कला–संस्कृति सहितको चलचित्र बनाउँदा विदेशी चलचित्रहरुसँग भाग्नु पर्ने अवस्थाको अन्त्य गर्न बोर्ड अध्यक्षले जिम्मेवारी लिनुपर्ने रेखाले बताइन् । उनले भनिन्, ‘विदेशी चलचित्रलाई पूर्ण रुपमा रोक्ने भन्ने होइन । तर, पहिला त नेपाली निर्माताहरु बाँच्नु पर्यो नि हैन र ?’

हलसँगको समन्यवयमा निर्मातालाई कसरी बचाउन सकिन्छ भन्ने कुराको टुंगो नयाँ अध्यक्षले लगाउनु पर्ने रेखा बताउँछिन् ।

रेखाले विकास बोर्ड अध्यक्ष बन्दा चुनौती भन्दा पनि अवसर बढि देखेकी छिन् । माथि उल्लेखित काम गरेर सम्मानित हुने यो राम्रो अवसर भएको रेखाको भनाई छ ।

उनले भनिन्, ‘हो, अहिले चुनौती भन्दा पनि अवसर छ । काम गर्ने सक्नेले नाम कमाउने मौका छ । तर, कुर्सी मात्र ओगट्ने हो भने वदनाम हुन नगए हुन्छ ।’

तपाईको प्रतिक्रिया