जनकपुरधाम । मैथिलीका अग्रज साहित्यकार एवं अभिनेता रमेशरञ्जन झाले आज मात्रै एउटा नाटकलाई पूर्णता दिएका छन् । भाइबहिनीका पावनप्रेमको प्रतीक सामा चकेवा पृष्ठभूमिमा गत एक सातादेखि पूर्णाङ्की नाटक उनी लेखिरहेका थिए । अहिले धनुषाको परवाहास्थित गाउँमै छन् उनी । आमाबाहेक उनका सबै सदस्य काठमाडौमै छन् । लकडाउनमा गाउँमा फसेकाले त्यसको उपयोग लेखनमा भइरहेको उनले बताए । नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका दुईपटक प्राज्ञ परिषद् सदस्य भइसकेका झाले लकडाउन अवधिमा तीनवटा आलेख, एउटा पुस्तकका भूमिका र एउटा नेपाली पुस्तकको समीक्षा पनि लेखेको राजधानीलाई बताए ।
मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको पनि लकडाउनमा यस्तै दिनचर्या बनेको छ । भोजन, टिभी हेर्ने र लेखन यसैमा उनको दिनचर्या बितिरहेको छ । न कसैसँग भेटघाट भइरहेको छ, न कहीँ घुम्न गइरहेको छु भन्दै खाली लेख्नेमा अधिकांश समय बिताइरहेको उनले बताए ।
रेवतीरमणको भनाइमा लेख्नका लागि पढ्नु आवश्यक छ । साहित्य सिर्जनाका लागि साहित्य पढ्नु धेरै आवश्यक छ । पढ्नु एउटा जिज्ञासा हो, एउटा लत हो । एकपटक जसलाई यो लत लाग्यो, ऊ यसको फन्दाबाट कहिल्यै पनि निस्कन सक्दैन । किन निस्कन नसक्ने ? भन्ने जिज्ञासामा पढ्नेले एउटा नयाँ जिन्दगी जिउने अवसर प्राप्त गर्ने र प्रत्येक दिन एउटा नयाँ लोकमा घुम्न पाउने उनको तर्क छ । तर, पनि लेख्ने काम सजिलो छैन र लेखेर मात्र जीवनयापन गर्न अझ धेरै गाह्रो भएको पनि उनले बताए ।
प्रदेश २ का सांसद रामअशिष यादव साहित्यका नियमित लेखक छैनन् तर अध्ययनमा धेरै समय बिताउने गर्छन् । अहिले आफू विश्व साहित्यको अध्ययन गरिरहेको बताए । उनले पर्यावरण सम्बन्धमा एउटा पुस्तक लेखन पनि सुरु गरेका छन् । लकडाउन केही दिन लम्बियो भने एउटा पुस्तक आइहाल्ने सांसद यादवले बताए । पुस्तक लेखन तीव्र गतिमा अघि बढिरहेकोमा उनको अनुहारमा प्रसन्नता देख्न सकिन्छ ।
सांसद यादवको भनाइमा बाल्यावस्थादेखि नै साहित्यले स्वर्गको अनुभूति दिन्छ । राम्रा पुस्तकहरूको अध्ययनले अप्ठ्यारासँग जुध्न सहयोग गराउँछ । वरपरको कटुता, एकांकीपनलाई किताबको संसारमा रमाउँदा भुल्न सकिन्छ । यस्तै, लेखनबाट कल्पनाको संसार मन पराउन थालिने, कल्पनाको संसारमा स्वतन्त्र र प्रसन्न बन्न पाइने, विद्रोह, पलायन, विरोध र बाँच्ने प्रयास साहित्य बन्न पुग्ने पनि यादवले बताए ।
अरू साहित्यकार पनि साहित्य लेखनले निराशा हटाउँछ । साहित्य लेखनले अपूर्व शान्ति प्राप्त हुने, जीवनको लक्ष्य देखापर्ने तथापि लेख्दाखेरी रुखोपन पनि आउने बताउँछन् ।
मधेसी आयोगका अध्यक्ष विजय दत्तको पनि यस्तै, सोच रहेको छ । अहिले उनी पनि दिनभरि पढेरै समय बिताउँछन् । के गर्ने यतिका समय खाली कहिले पनि नबसेको दत्तले बताए । उनले पनि केही पुस्तक लेखिरहेका छन् । शिलहरण नाउँले कथा संग्रहको अन्तिम रूप दिएका छन् । जानकी रेखा नाउँले उपन्यासको पनि लेखन सुरु गरेका छन् । यसका साथै, लोकोक्तिको पनि संकलन गरिरहेका छन् । अहिलेसम्म ७० वटा लोकोक्ति संकलन भएको उनले बताए ।
सिरहाका पत्रकारसमेत रहेका साहित्यकार राकेश झाको दिनचर्या पनि अहिले पुस्तक अध्ययनमै बितिरहेको छ । झाको भनाइमा विज्ञान र साहित्यमा धेरै समानता छ । दुवैमा निरीक्षण, तुलना र अध्ययनले नेतृत्वदायी भूमिका निर्वाह गर्दछन् । लेखक र वैज्ञानिक दुवैसँग कल्पना र अन्तःप्रज्ञा हुनैपर्दछ भन्ने उनको तर्क छ ।
यस्तै, लकडाउनका बेला लेखनको प्लट नभेटाउनेहरू पनि धेरै रहेका छन् । मैथिलीका वरिष्ठ साहित्यकार डा. सुरेन्द्र लाभ नियमित लेखक हुन् । तर, लकडाउनपछि न एउटा पुस्तक पढेका छन, न एकपेज लेखेका छन् । टिभी हेर्नमा अधिकांश समय बित्ने गरेको उनले बताए ।
अहिले भैरहवामा रहेका डा. लाभले लेखनका लागि प्लट नै भेटिरहेका छैनन् भने २०४६ सालको आन्दोलन, २०६३-६३ को आन्दोलन वा मधेस आन्दोलन त्यो बेला लेखनको यस्तो खडेरी नभएको डा. लाभले बताए । यसका पछाडि अहिलेको माहोललाई उनी दोष दिन्छन् ।
मैथिलीका चर्चित साहित्यकार धीरेन्द्र प्रेमर्षिको पनि यस्तै पीडा रहेको छ । उनले भने, ‘एक÷दुईवटा गीत लेख्या छु । त्योबाहेक पुराना गीतहरूको संगीत दिइरहेका छांै । कुनै राम्रो लेखन हुनुपर्ने त्यो भइरहेको छैन ।’ साहित्यकार प्रेमर्षिले कोरोना महामारीसँगको लडाइँमा आफूहरू बाँच्नका लागि संघर्ष गर्नुपरेकाले साहित्य सिर्जनामा त्यति गम्भीर हुन नसकेको पनि बताए ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत मटियानी विद्यापीठका मैथिली विभाग प्रमुख मनोज झा मुक्ति पनि छिटफुट रचनामा दिन बितेको बताए । तीन-चारवटा कविता, एक-दुईवटा गीत गजल र दुईवटा आलेख लेखेको उनले बताए ।