बिकाश राना चितवन – अहिले विश्वका अधिकांश राष्ट्रहरु कोरोना महामारीको चपेटामा परेको छ। एकातिर स्वास्थ्य क्षेत्रलाई हेर्ने हो भने विश्वका धेरै ठूला राष्ट्रहरु यो महामारीको सिकार भइसकेको छ या भनौ हुने क्रममा निरन्तरता कायमै छ भने अर्कोतिर आर्थिक रुपमा हेर्ने हो भने विश्व कै अर्थतन्त्रमा ठूलो धक्का लागेको छ। नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि सबैभन्दा बढी प्रभाव स्वास्थ्य पछि आर्थिक कारोबार मै परेको देखिन्छ अझ त्यसमाथि पनि नेपालको वर्तमान परिस्थितिलाई नियाल्ने हो भने पर्यटन तथा होटल व्यवसाय नराम्ररी प्रभावित भएको हामी देख्नै सक्छौ। भौगोलिक बनावट, प्राकृतिक सुन्दरता, सांस्कृतिक विभितता, बहुजातिय र बहुभाषिक देश भएकै कारण यहाँ पर्यटन व्यवसायको विकासका साथसाथै रेस्टुरेन्ट तथा होटल व्यवसायको पनि विकास भएको हो तर पर्यटन क्षेत्रमा परेको प्रभावका कारण रेस्टुरेन्ट तथा होटल व्यवसाय पनि लथालिङ्ग अवस्थामा पुगिसकेको छ भने सबैभन्दा बढी प्रभाव रेस्टुरेन्ट तथा होटल व्यवसायमा आबद्ध कर्मचारी र यिनका परिवारलाई परेको छ। करिब १० लाख भन्दा बढी जनशक्ति यस व्यवसायमा आबद्ध छन् र यसै माथि निर्भर भएर आफ्नो जिविकोपार्जन गरिरहेका छन् तर अहिले कोरोनाका कारण रेस्टुरेन्ट तथा होटलहरू सबै ठप्प छन् र कर्मचारी वर्गहरू अलपत्र अबस्थामा पुगेका छन्। यस्तो अप्ठ्यारो स्थितिमा होटल कर्मचारीको हितमा न त सरकार बाट कुनै पहल भएको देखिन्छ न त स्थानीय होटल व्यवसाय संघ संगठनबाट कुनै योजना कार्यान्वयन भएको देखिन्छ।
देश लकडाउन भएको साढे दुई महिना बितिसक्दा पनि यि कर्मचारी र यिनका परिवारले के कति राहत र सहयोग पाएका छन् भन्ने प्रश्नको कुनै उत्तर छैन। सबैले आ-आफ्नो पक्षबाट आ-आफ्नो व्यवसायलाई कसरी जोगाउने र पुनरुत्थान गर्ने भन्ने विषयमा मात्र जोड गरिरहेको अवस्थामा यि अलपत्र पारेका कामदार एवं कर्मचारी वर्गलाई कसरी संगै लिएर अगाडि बढ्ने भन्ने विषयमा कसैको पनि विचार अहिलेसम्म आएको छैन। देश आर्थिक ह्रास तर्फ होमिएको समयमा आफ्नो व्यापार व्यवसायको बारेमा सोच्नु र यसको पुनरुत्थानको बाटो पहिल्याउनु पक्कै पनि गलत होइन तर हामीले के कुरामा ध्यानाकर्षण गर्न जरुरी छ भने कुनै पनि व्यवसाय चाहे सानो होस या ठूलो कुनै एक व्यक्तिले चलाएर चल्न सम्भव छैन यसका लागि दक्ष जनशक्ति अवश्य नै चाहिन्छ र व्यवसाय सफल ढङ्गले सञ्चालन हुनुको पछाडि अन्य साना ठुला धेरै कर्मचारीहरूको संलग्नता रहेको हुन्छ।
सुख दुःख गाह्रो अप्ठ्यारो जे पर्दा पनि आफु आबद्ध भएको कम्पनी एवं कर्मस्थालको भलो होस्, प्रगति होस् भनेर आफ्नो कर्तव्य निर्वाह गर्ने कर्मचारीहरूलाई अहिले यस्तो समस्याको घडीमा चाहिँ ती सहयोगी हातहरूलाई बिर्सेर आफ्नो मात्र गाँसको उपाय खोज्नु चाहिँ गलत हो। यदि अगाडि बढ्ने नै हो भने आपसी समझदारी, मेलमिलाप र सहयोगको भावना लिएर आ-आफ्नो क्षेत्रमा आबद्ध कर्मचारीहरूलाई पनि आफ्नो जिम्मेवारी सम्झेर अगाडि बढ्न जरुरी छ। आफ्नो समय अनुकूल हुंदा सबैलाई हाय हाय गर्ने अनि यस्तो जटिल र नाजुक समयमा चाहिँ बेवास्ता गर्नु पक्कै पनि अमानवीय व्यवहार हुन्छ। त्यसैले सम्पूर्ण होटल व्यवसायी र यस संग सम्बन्धित सम्पूर्ण कर्मचारीहरू एकजुट भएर आवश्यक परेको खण्डमा एकअर्काको परिपुरक भएर अगाडि बढ्नु र समस्याको समाधान खोज्नु बुद्धिमानी हुन्छ।