काठमाडौँ : आधा आकाश ढाकेर रहेका नारीहरुले आफ्नो हक अधिकारका लागि धेरै संघर्ष गरेका छन्। उनीहरुले गरेका संघर्ष कारण केही अधिकार प्राप्त त भएका छन् तर त्यो पर्याप्त छैन। अझ पनि ऐन कानुन र नीति नियम पितृ समाजका पुरुषहरुमध्ये अधिकांशको मानसिकता नारीलाई पूर्ण स्वतन्त्रता दिउँ भन्ने किसिमको छैन।

नारीलाई सृष्टिकी जननीको रूपमा चिनिन्छ । संसारमा करिब आधाभन्दा बढी हिस्सा नारीकै छ । सृष्टिलाई निरन्तरता दिनका लागि पुरूषको जुन भूमिका रहन्छ, त्यति नै योगदान र भूमिका नारीको पनि हुन्छ । यदि संसारलाई एउटा सिक्काको रूपमा हेर्ने हो भने त्यो सिक्काको अर्को पाटो नारी नै हो, जस बिना सिक्काको अस्तित्वको कल्पना पनि गर्नु सम्भव छैन ।

नारी धर्तिको आधा भन्दा बढी हिस्साको रूपमा रहे तापनि हाम्रो पुरूष प्रधान समाजमा बिडम्वना के छ भने उनीहरूको आवाजलाई दबाइएको छ । घरभित्र छोराहरूलाई निस्फिक्री जतासुकै जान खुला गरिएको हुन्छ तर छोरीलाई घरबाहिर जानबाट बन्देज गरिएको हुन्छ । हाम्रो परिपाटी नै यस्तो बनिसकेको छ कि नारी कमजोर तप्का हो । तसर्थ घरव्यवहार चलाउने काम पुरूषको हो । नारीलाई केवल चुलोचौकोमा मात्र सीमित राख्नु पर्छ अर्थात् उनीहरूलाई भावनाविहीन, निर्जीव खेलौनाको रूपमा प्रयोग गरिएको छ । खालि सृष्टिलाई निरन्तरता दिनका लागि सन्तान उत्पादन गर्ने मेशिनको रूपमा नारीलाई प्रयोग गरिएको छ । नारीका इच्छा, आकाङ्क्षा तथा चाहनाहरूको कुनै वास्ता छैन । उनीहरू पुरूषलाई सदासर्वदा खुसी पार्न तल्लीन रहनु पर्ने र उनीहरूको सेवामा आफ्नो जीवन सुम्पिनु पर्ने परिपाटी निर्माण गरिएको छ । यसरी उनीहरूलाई झनै असहाय, अनाथ र कमजोर पारिदै लगिएको छ।

जसले गर्दा समाजमा ठाडो शिर पारेर बोल्न र अन्यायको बिरूद्वमा सङ्घर्ष गर्न त परै जाओस्, आफ्नो पीडाबारे जानकारी दिन पनि उनीहरूसामु त्रासको स्थिति छ । उनीहरूलाई शिक्षा, स्वास्थ, सञ्चार जस्तो आधारभूत सेवा, सुविधाबाट पनि सदा बञ्चित गरिएको हुन्छ । हाम्रो समाजको मानसिकता नै यस्तो भैसकेको छ कि छोरा जन्मियो भने उसलाई निजी तथा महङ्गो विद्यायलमा पठाउने तथा छोरीलाई मुश्किलले सरकारी विद्यालय, अझ कतिले त त्यहीँ पनि नपठाएर गाई चराउन तथा घास दाउरा, मेलापात पठाउने चलन अझै बिद्यमान छ । आखिर छोराछोरी दुबै आफ्नै सन्तान भए तापनि कैयौँ आफ्नै बाबुआमाले पनि छोरालाई अर्काको घर जाने जातको रूपमा हेर्ने गरेको पाइन्छ । आफ्नो बंशलाई धान्नका लागि छोरा नै हुनु पर्ने हाम्रो समाजको मान्यताले महिला हिंसामा थप इँटा थप्ने काम गरेको छ । यसरी छोरा जन्मने आशमा लगातार सन्तान जन्माउँदै जादा एकातिर, महिलाको सङ्ख्या बढदै जाने तथा अर्कोतिर, महिलालाई सन्तान उत्पादनका लागि प्रयोग गर्दै जाँदा उनीहरू त्यही काममा मात्र तल्लीन रहने हुँदा व्यक्तित्व विकासमा काम गर्ने अवसरबाट बञ्चित हुनु पर्ने हुन्छ । सन्तान उत्पादन गर्ने मेशिनका साथसाथै उनीहरूलाई भोगविलासको साधनका रूपमा पनि प्रयोग गरेको पाइन्छ । उनीहरूमाथि यौन दुराचारका घटना पनि समय समयमा घटिरहेको पाइन्छ । उनीहरू उत्पीडन तथा शिकारबाट पिरोलिरहेका छन् । केही शिक्षित तथा जानेबुझेका महिलाहरूले नारी जागरणको बिषयमा आवाज नउठाएको होइन । तर पनि उनीहरूको आवाजलाई पोथी बासेको संज्ञा दिएर चुप लागेर बस्न बिवश पारिएको छ ।

समाजमा कैयन् महिलाहरूलाई बोक्सीको नाम चरम शारिरिक तथा मानसिक यातना दिने कार्य पनि अझै हटन सकेको छैन । अहिलेको २१ औँ शताब्दिमा भूतप्रेत र बोक्सी हुदैन भन्ने कुरा बिज्ञानले पुष्टि गरिसकेको अवस्थामा गाउँघरमा एक्ला तथा असहाय महिलालाई बोक्सीको नाममा दिशा खुवाउने, ज्युँदै जलाउने, समाजबाट बहिष्कृत गर्ने कार्यमा यहाँका पढेलेखेका र बुद्विजीवी नै संलग्न रहेका छन । साथै दाइजोको नाममा केही लाक्षी तथा निच श्रीमान तथा परिवारको यातना र शोषणबाट पनि महिलाहरू अछुतो रहन सकेका छैनन । पछिल्लो समयमा महिलामाथि दाइजोको नाममा पनि थुपै घटना घटिराखेको पाइन्छ ।

हाम्रो देशमा विभिन्न ऐतिहासिक तथा राजनितिक परिवर्तनसँगै महिला हक, हितका बिषयमा थुप्रै आवाज उठ्दै गएको र कानुनी रूपमा नीति–नियमहरू बनाइएको भए पनि त्यसको खासै अर्थ रहेन । राज्य स्तरबाट महिलाको उत्थानका लागि थुपै्र पहलकदमी चालिएको पाइन्छ । राज्य निरङ्कुशताबाट गणतन्त्रमा प्रबेश गरेसँगै नेपालको संबिधानमा पनि महिलाको हक, हितलाई सुनिश्चित गर्नका लागि महिला अधिकारसम्बन्धी विविध कानुन, नीति–नियम तर्जुमा गरिएको छ । यस कार्यमा राज्यस्तर निकै सक्रिय भएर लागे तापनि महिला हिंसामा खासै कमी भने आउन सकेको छैन । यसको मुख्य दोषी हामी र हाम्रो परिवार नै हो, किनकि ठूल्ठूला सभा, सम्मेलन र भाषणमा नारी हिंसा रोक्नु पर्छ । समाज रूपान्तरणका लागि बिकास निर्माणमा नारीको समान प्रतिनिधित्व गरिनु पर्छ । नारी–पुरूष बराबरी भनेर छाति ठोक्ने तथा घरमा पुगेपछि आफु स्वयं नै नारी हिंसामा संलग्न रहने हाम्रो परिपाटी नै यसको मुख्य कारक तत्व हो । अर्कोतिर, नारी हिंसामा बिशेष गरी नारी नै अग्रसर रहनुले पनि यसको निराकरणमा चुनौती थपेको छ । आफू पनि बुहारी बनेर बुहारी बन्दाको पीडा प्रत्यक्ष महसुस गरिसकेकी एउटा सासूले आफ्नै छोरीसमान बुहारीलाई गर्ने अत्याचार यसको उदाहरणको रूपमा लिन सकिन्छ । यस्तो नारीले नै नारीमाथि गर्ने अत्याचारले गर्दा महिला हिंसा झन् चरम उचाइमा पुगेको छ । तसर्थ जबसम्म हामी आफैबाट परिवर्तनको सुरूवात गरेर नारी हिंसालाई रोक्न अग्रसर हुँदैनौँ, तबसम्म यो प्रकृया कम हुने कुरा त सोच्दै नसोचौँ, अझ बढावा हुनेछ । यसमा दुई मत नै छैन ।

महिला पनि स्थान पाए भने पुरूषले जस्तै जस्तोसुकै कठिन र भयानक कार्य पनि गर्न सक्दछन । महिला भएकै कारणले उनीहरू अशक्त हुन्छन भन्ने मान्यता गलत हो । अवसर पाएमा उनीहरू पनि पुरूषभन्दा केही कुरामा पछि हटनु पर्दैन, किनकि प्रकृतिले पनि उनीहरूलाई पुरूषलाई जस्तै काम गर्न र हिँड्नका लागि हातखुट्टा तथा सोच्नका लागि दिमाग दिएको छ । साच्चिकै अवसर पाएमा महिला जे पनि बन्न सक्छन् । उनीहरूलाई अवसर दिन जरूरी छ । त्यसका साथै उनीहरूलाई हेर्ने हाम्रो सोचमा परिवर्तन जरूरी छ । जबसम्म हामी मानसिक, सोचमा परिवर्तन गर्न सक्दैनौ, तबसम्म जतिसुकै फुर्ती लगाए पनि महिला हिंसाका घटनामा कमी आउन सक्दैन । यसका लागि सर्वप्रथम ब्यापक रूपमा जनचेतना अभिबृद्वि गर्न जरूरी छ । जब मानिसको महिलाप्रतिको मानसिक सोचमा परिबर्तन हुनेछ। तब महिलाप्रतिको समाजले हेर्ने दृष्टिमा परिवर्तन आई महिला हिंसामा पनि न्यूनीकरण सम्भव छ ।

असल छोरा, असल पिता, असल दाजु–भाइ बन्न सक्नुपर्छ पुरुष समाजले । महिला सशक्तिकरण हुन आवश्यक छ । तर त्यसका नाममा उच्छृङ्खलतालाई हुर्कन दिनु हुँदैन, नत्र त्यसले पनि अन्य घटना निम्त्याउन सक्छ । नारी सशक्तिकरणका साथै नारी–पुरुष दुवैलाई संस्कारले पोषित गर्न सके मात्र जननी र जन्मभूमि दुवैको महिमा–गरिमा स्थापित हुन सक्छ । यसो गर्न नसकेमा आफूलाई नारीको रक्षक ठान्ने पुरुष–समाजकै गरिमा पनि धुलोमा मिल्न पुग्नेछ ।

(रन्जना दाहाल- बरिष्ट समाजसेवी, साहित्यकार तथा ब्यबसायी हुनु हुन्छ)

तपाईको प्रतिक्रिया