काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका–७ का ६६ वर्षीय प्रेमकृष्ण महर्जनको बसाइ प्रहरी हिरासतमा छ।

महर्जनको घरमा भाडामा बसेका ४८ वर्षीय शम्भु चौधरीको हत्यापछि उनी हिरातसमा पुगेका हुन्। शम्भुको हत्या हुनुको कारण पानी रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारले बताए।

“घरभेटी प्रेमकृष्ण चाहिँ बढी नै किचकिचे रहेछ र पानी थाप्ने विषयमा पहिलेदेखि नै किचकिच गर्ने उनको बानी रहेछ,” डीएसपी तन्डुकारले देखापढीसँग भने, “र, शम्भुलाई पानी थाप्न दिएनछन्, त्यसबेला विवाद हुँदा आग्लोले प्रहार गरेछन्।” आग्लो प्रहारबाट गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। आफ्नै घरमा बस्नेको हत्या गरेका उनीविरुद्ध प्रहरी वृत्त कीर्तिपुरमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

०००

४६ वर्षीय बुद्धिराज गुरूङ मिर्गौला रोगी हुन्। थानकोटस्थित शशी थमालको घरमा उनको बसाइ थियो। जहाँ साली र साढु भाइको परिवार बस्थे। उनीहरूसँगै बसेर अस्पताल आउजाउ गर्ने उनलाई कोरोना महामारी फैलिएपछि घरभेटीले निकालिदिए।

अस्पताल आउजाउ गरिरहँदा कोरोना संक्रमण हुन सक्ने र घरमा रहेकाहरू असुरक्षित हुने भन्दै गुरुङ निकालिए। आर्थिक रूपले विपन्न गुरूङ सातामा दुई पटक डायलाइसिस गर्दथे। तर, बस्ने ठाउँ नै नपाएपछि उनको बसाइ धापसीस्थित सुमेरु अस्पतालको छिँडीमा भयो। जीवन मरणको संघर्ष गरिरहेका बेला गुरूङ घरभेटीबाट अमानवीय ढङ्गबाट निकालिए।

०००

नौं महिने गर्भवती देवी शर्मा र उनको परिवारलाई घरभेटी गणेशमान महर्जनले कोरोनाको बहाना बनाएर निकाला गरे। महर्जनको घर कीर्तिपुर नगरपालिका वडा नम्बर–१० मा छ। केही वर्षदेखि बस्दै आएका शर्मा परिवार गत बैशाखमा जाजरकोट गए। र, फर्किए।

यता घरभेटी महर्जनले जाजरकोटबाट आउँदा कोरोना संक्रमित भएर आएको आशंकामा गर्भवती शर्मासहित उनको श्रीमान र छोरालाई निकालिए।जबकि बैशाखमै देवीको सुत्केरी हुने समय थियो। तर, भाडाको कोठामा ताला लगाएर निकाली दिए। संक्रमणको बेला शर्माको परिवार पनि अमानवीय तवरले निकालिएका हुन्।

०००

कोरोना महामारी विरुद्धको लडाइँमा स्वास्थ्यकर्मीहरू अग्रमोर्चामा छन्। जीवनलाई जोखिममा राखेर कोरोनाविरुद्ध उनीहरु दिनरात नभनेरै काम गरिरहेका छन्। तर उनीहरु पनि घरभेटीहरुबाट प्रताडित हुनुपरिरहेको छ।

भदौको ६ गते काठमाडौं महानगरपालिकाका–३१ मा घरभेटीहरूले क्वारेन्टिनमा बसेका सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनबाट हटाउन हुल हुज्जत गरे। टोल विकास समितिका अध्यक्षसहितको टोलीले ३०/३५ जना स्वास्थ्यकर्मी बसाउने होस्टलका सञ्चालकलाई पनि गाली गरे।

आफू विरामी हुँदा उपचार गर्ने स्वास्थ्यकर्मीमाथि देखिएको दुर्व्यवहारले किन मानिसहरु किन यतिधेरै क्रुर स्वभावका भइरहेछन् भन्ने प्रश्न उठेको छ।

०००

चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले घरभेटीहरूलाई एक महिनाको भाडा छुट गराउन अनुरोध गर्ने निर्णय गर्‍यो। छुट गरे वापत घर बहाल कर मिनाहा गर्ने सरकारले निर्णय गर्‍यो।

तर, काठमाडौं उपत्यकाका एकाध बाहेकका घरधनीहरूले सरकारको अनुरोधलाई नसुनेझै गरिदिए। उल्टो दुख पर्दा झनै दुख थप्ने काम गरे। कति घरभेटीले सकेसम्म भाडा असुले, कतिपयले भाडामा बस्दै आएकाहरुलाई दुर्व्यवहार गरे। डेरावाल मञ्चका अनुसार काठमाडौं उपत्यकाका ९० प्रतिशत घरभेटीले भाडा मिनाहा गर्न मानेनन्।

सरकारको यो निर्णय असङ्गठित क्षेत्रका मजदूरको हितका लागि थियो। जसले कोरोना संक्रमणको महामारीका रोक्न गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमाएका थिए। तर संकटको घडीमा रोजगारी गुमेर आर्थिक बिचल्लीमा परेका र यही समाजकै काममा खटिएकाहरुप्रति समेत घरभेटीहरु निर्मम बनेर प्रस्तुत भए।

तपाईको प्रतिक्रिया